
नेपालमा यौन दुश्चक्रको अर्को पाटोः पतिविरूद्ध बलात्कारको उजुरी दिने पत्नीहरू
काठमाडौं– पहिलो त हिंसा र दोस्रो परपुरुषसँगको सम्बन्धले अहिले नेपालमा यौन दुश्चक्रको नयाँ पाटोका उजुरी बढेका छन्। पत्नीले बलात्कार गरेको भन्ने कानुनले चिन्दैन। तर, पतिले बलात्कार गरेको भन्नेचाहिँ कानुनी उपचारका पाटा व्यापक हुन थालेका छन्।
एउटा अध्ययनले भन्छ– नेपालमा दैनिक तीन जना बलात्कारमा पर्छन् ।
नेपाल प्रहरीमा अब बलात्कारका यस्ता उजुरीमात्र परेका छैनन् । पत्नीले पतिविरुद्ध बलात्कारका उजुरी समेत दिन थालेका छन् । समाजको चेतनाको चित्रले बिचित्र मुद्दाहरू पनि पाउन थालेको छ । यो क्रम दशकयता बढ्न थालेको तथ्यांकहरूले देखाउँछ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुई बर्षअघि वैवाहिक बलात्कारको आरोपमा एक व्यक्तिलाई पक्राउ गरियो। २२ वर्षीया पत्नीको उजुरीका आधारमा २७ वर्षीय उनी पक्राउ परेका थिए। पक्राउ परेका उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडमा राखेर अनुसन्धान गरिएको थियो । पतिले इच्छा विपरीत यौनसम्पर्क गरेको भन्दै ती महिलाले वैवाहिक बलात्कारमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको थियो।
विवाह भएको दुई वर्षपछि ती महिलाले पतिविरुद्ध वैवाहिक बलात्कारमा मुद्दा दर्ता भएको थियो। महिलाले जाहेरीमा लेखेकी थिइन्,‘मेरा पति पाँच सात दिन हराउँछन् र घर आएपछि मेरो सहमति बिनै पटक–पटक जवरजस्ती यौन सम्वन्ध राख्छन्।’
यौनसम्पर्क पति र पत्नी दुवैको प्राकृतिक आवश्यकता हो । महिलाले आफ्नो यौनअधिकार प्रति सचेत हुने र पुरुषले पनि बिहे गर्ने बित्तिकै पत्नीमाथि यौनअधिकार जमाउन पाइन्छ भन्ने नसोचे दाम्पत्यजीवन सुखी र दिगो हुने मानिन्छ ।
बर्दियामा पहिलो पटक पतिविरुद्ध पत्नीले बलात्कारको मुद्धा दर्ता गराइन्। बर्दियाको ठाकुरवावा नगरपालिका–१ सिंहवाहिनि निवासी ३६ बर्षिय तारादेवी बोहराले पतिविरुद्ध दिनहँु यातना दिने र बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन्।
पतिले मापसे गरेर दिनहु कुटपिट गर्ने शारिरीक यातनासगै जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख थियो। २०५३ सालमा विवाह बन्धनमा बाधिएका तारा र कालिवहादुरका ४ छोरी र १ छोरा रहेका छन्।
यी प्रतिनिधि घटनामात्र हन् ।
यस्ता उजुरीलाई प्रहरीले विशिष्ट प्रकारको अपराधको सूचीमा राख्ने गरेको छ। आम भाषामा भनिने बलात्कारलाई प्रहरीले आफ्नै भाषामा व्याख्या गरेको छ । खासगरी जबरजस्ती करणीका घटना ज्यादा हुने गरेको प्रहरीको विश्लेषण छ ।
‘प्रहरीले काम नगरेको भन्नेहरूले तथ्यांकलाई नियाँल्नुुपर्छ । केही मुद्दामा अनुसन्धान जारी छन् केहीका अभियुक्त फरार भएकाले खोजी कार्य जारी छ’, प्रहरी अधिकारी भन्छन्,‘बलात्कारको तथ्यांक उजुरीका आधारमा आउने हो । यसलाई सकारात्मक हिसाबले हेर्ने हो भने समाजको चेतनास्तरमा आएको परिवर्तन पनि मान्न सकिन्छ । खासगरी महिला दिदीबहिनीमा प्रहरीकहाँ उजुरी दिनुपर्छ, पीडामा बस्नुहुन्न भन्ने जागरण पनि बढ्यो । यसकारण यो ग्राफ बढेजस्तो देखिन्छ ।’
कहिलेकाहीँ प्रहरी अधिकारी बलात्कार प्रकरणमा मुद्दा दबाउने, मिलापत्र गराउनेजस्ता विषयको विवादमा पनि तानिने गरेका छन्।
कतिपय प्रहरी अधिकारीका अनुसार लिभिङ टुगेदरमा बस्दा पति पत्नी बन्ने र पछि सम्बन्ध विग्रिएपछि बलात्कारको आरोप लगाइएका उजुरी पनि पर्याप्त मात्रामा आउने गरेका छन्।
‘सम्बन्ध कस्दा र सँगै बस्दा घर मालिकलाई समेत ढाँटिएको कतिपय अनुसन्धानमा हामीले पाएका छौं। लिभिङ टुगेदरमा बस्दा पति पत्नी भनी ढाँटिएको हुन्छ, हामीलाई आउँदा बलात्कार भयो भन्ने उजुरी आउँछ’, एक अधिकारी भन्छन्,‘यो क्रम सहरी क्षेत्रमा त्यसमाथि काठमाडौंमा ज्यादा छ।’
त्यसो त कतिपयले अवसर पाउनका लागि दोस्रो पत्नी हुने र भनेको जस्तो सुविधा नपाए बलात्कारको उजुरी गर्दै आएको त महिला सेलमा पनि पर्याप्त उदाहरण रहेका छन्।
‘बलात्कार भयो भनी आएका उजुरीको छानबिन गर्दा कहिलेकाहीँ महिलाकै पनि गल्ती भेटिन्छ। हामीले न्यायका लागि राम्रो छानबिन गरिँदिँदा त्यस्तो पाउँछौं’, महिला सेलकी एक अनुसन्धान अधिकृत भन्छिन्,‘बलात्कारको अभियोगमा सबै पुरुषमात्र दोषी भेटिएका छैनन्। सबै पति मात्र पनि दोषी पाइएका छैनन्, कारण खोज्दा अर्कै परिणाम पनि आउने गरेका छन्।’



कागजपत्र |
