छुट्टा-छुट्टै सडक दुर्घटनामा परि २ जनाको मृत्यु


कलैया – बारा र राजविराजमा भएको छुट्टा-छुट्टै सडक दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ ।

बारामा मैजिक गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कलैयाबाट वीरगञ्जतर्फ गइरहेको ना१ज ८८३९ नं मैजिक गाडीले विपरीत दिशाबाट आइरहेको ना४५प ५१२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रसौनी गाउँपालिका–५ निवासी ४० वर्षीय दुरुयोधन चौधरीको घटनास्थलमै मृत्युको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

ठक्कर दिने मैजिक चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए । मृतकको शव कलैया अस्पतालमा रहेको र शवपरीक्षण गरी परिवारजनको जिम्मा लगाउने बारा प्रहरीले जनाएको छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले बस्ने २२ वर्षीय बिपिन चौधरी रहेको प्रहरीले जनाएको छ ।

शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१०च २५२४ नं कारले विपरीत दिशाबाट आउँदै गरेको बा२६प २२६० नंको मोटरसाइकललाई दुई दिनअगाडि ठक्कर दिएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ भेडिया बस्ने ४५ वर्षीय प्रेम चौधरी र सिरहा लहान नगरपालिका–२० मल्हनमा बस्ने २५ वर्षीय अजीत चौधरी घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित न्यूरो अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया