मिक्वाखोला गाउँपालिकामा अझै स्थापना भएन बैँक, सेवाग्राही ५ पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती


ताप्लेजुङ – सेञ्चुरी बैंकले मिक्वाखोला गाउँपालिकामा शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन् ।

नेपाल बैंकले २०७४ सालको असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा शाखा कार्यालय स्थापना गर्ने परिपत्र गरेको थियो । यसै अनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापन गरेर आर्थिक कारोवार गर्दै आएको छ ।

सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको थियो । अहिलेसम्म बैंकले शाखा स्थापना गरेको छैन । गाउँपालिकामा आर्थिक कारोवार नहुँदा ताप्लेजुङ सदरमुकाम जानु परेकोे मिक्मवाखोलाका लेखा अधिकत प्रशान्त भट्टराइले जानकारी दिए ।

उनले भने, ‘गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाई भएको छ । तलब निकासा गर्न सदरमुकाम चेक बोकेर पुग्नुपर्दछ ।’ सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाईसमेत समस्या परेको छ । केन्द्रको सबै अधिकार गाउँ आउँदासमेत कारोवारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकले सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत स्थानीय तहमा जाने सबै प्रकारका भुक्तानी बैंक मार्फत गर्नुपर्ने निर्देशन दिएको छ । गाउँपालिकामा बैंकले नहुँदा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायतका आर्थिक कारोवारमा समस्या हुर्दै आएको उनले जानकारी दिए ।

उनले भने, “हामीले धेरै पटक सञ्चुरी बैंकलाई गाउँपालिकामा शाखा विस्तार गर्न अनुरोध गरौं । विभिन्न बाहाना गर्दै आएको छ ।” बैंक शाखा स्थापन नगरेपछि एउटा योजनाको लागि सम्झौता गर्न गाउँदेखि पालिकाको कार्यालयसम्म आउनुपर्ने हुन्छ । गाउँपालिकाको कार्यालयमा योजना सम्झौता गरेर खाता खोल्न सदरमुकाम जानुपर्ने हुन्छ । सदमुकाममा खाता खोलेर योजनाको पेस्की रकमको चेक लिन फेरि फर्किइ गाउँपालिकाको कार्यालयमा पग्नुपर्दछ ।

योजना सम्पन हुँदा कम्तीमा पाँच पटक सदरमुकाम पुग्नुपर्दछ । मिक्वाखोलादेखि सदरमुकाम पुग्न रु ५०० गाडी भाडा लाग्छ । पाँच पटक सदरमुकाम आउनु र गाउँपालिका र्फकन गरी पाँच हजार गाडी भाडा मात्र तिर्नुपर्दछ । गाउँपालिकामा बैंक भए एक दिन पनि नलाग्ने समय बैंक नहुँदा एउटा योजना सम्पन्न हुँदा दश दिन समय खर्च गर्नुपरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी रकम निकासा गर्न जिल्लातिर आउने गरेका छन् । बैंक नभएकाले आर्थिक कारोवार गर्न निकै कठिनाई भएको गाउँपालिकापालिका-२ का वडाध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

उनले भने, “हाम्रो कार्यपालिकाको पर्सी बैंठक छ । बैंठकले एक किसिमको आन्दोलन गर्ने प्रस्तावमा छौं ।” समयमै शाखा स्थापना नगरेकाले स्थानीय समुदायलाई स्थानीय सरकारको अनुभूति पाउन नसकेको वडाध्यक्ष थापाले बताए ।

बैंकका लागि आश्यक उपकरण गाउँपालिका केन्द्रमा पुर्‍याइसकेको र इन्टरनेट जोड्न मात्र बाँकी रहेको सेन्चुरी बैंकका काठमाडौँका सामान्य सेवा विभाग प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनले भने, ‘नेपाल बैंकले परिपत्र गरेको निकै अगाडि नै हो । विभिन्न कारणले समयमै आफ्नो शाखा स्थापन गर्न नसक्नु हाम्रो कमजोरी रह्यो ।’ बैंक स्थापना गर्नको लागि गाउँपालिकामा घर भाडामा लिएर सुरुक्षाकर्मीसमेत राखिसकेको र छिट्टै कारोवार शुरु हुने उनले जानकारी दिए ।

प्रतिक्रिया