प्रदेश १ को बैठक स्थगित गर्न सभामुखलाई मुख्यमन्त्रीको दबाब


विराटनगर  – प्रदेश १ प्रदेशसभाको आजको बैठक स्थगित गर्न मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्।

आज (आइतबार) बिहान विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री राईले प्रदेशसभा बैठक स्थगित गर्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएको स्रोतले जनाएको छ।

​अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको स्रोतले बताएको छ। सभामुख भण्डारीले भने प्रक्रियाअनुसार अविश्वासको प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूचीसमेत तय भइसकेको भन्दै सधैँभरि बैठक रोकेर राख्न नसकिने जवाफ दिएको बताइएको छ।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबल हुन सकेको छैन।

आज २ बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ । माघ ७ गतेदेखि सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो। त्यसपछि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए । त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए।

दोस्रो बैठक माघ २५ गते बसेर अविश्वासको प्रस्ताव टेबल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्रीनिकट सांसदहरुकै अवरोधका कारण स्थगित भएको थियो।

प्रतिक्रिया