एमाले विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा


काठमाडाैं – नेकपा एमाले विभाजन भएसँगै प्रदेश १ सरकार अल्पमतमा परेको छ । एमाले विभाजनपछि प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ ।

एमाले नेतृत्वको एकल बहुमतीय सरकार गठन भएको प्रदेश १ मा एमाले विभाजनपछि राई नेतृत्वको सरकार सरकारले बहुमत गुमाउने निश्चित देखिएको हो ।

एमालेबाट विभाजन भएर माधव नेपाल नेतृत्वको समूहले नेकपा एमाले समाजवादी पार्टी गठनका साथ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ ।

माधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रिया थालिने विपक्षी गठबन्धनका नेताहरुले बताएका छन् ।

हाल प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद छन् । कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ । तर, माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एमालेका ५१ मध्ये १५ सांसद सामेल भएका छन् । योसँगै एमालेमा अब ३६ सांसदमात्र सीमित रहनेछन् । एमालेलाई बहुमतका लागि थप ११ सांसद आवश्यक हुने देखिन्छ । विद्यमान समीकरणमा एमालेलाई बहुमतको अंक गणित जुटाउन निकै कठिन देखिन्छ ।

एमाले विभाजनपछि प्रदेश सभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, नवगठित एमाले समाजवादीका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १/१ जना सांसद छन् ।

नयाँ सरकार बनाउनका लागि काँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्छन् । यसकारण यही गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया