ठमेलको क्लबका सञ्चालक कुट्ने ७ रिहा, गुन्डा नाइके ‘सानुभाइ’ अझै हिरासतमै


काठमाडौं- ठमेलस्थित ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गर्ने समूहका ७ जना रिहा भएका छन्। गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ भनिने युवराज गुरुङ भने अहिलेसम्म हिरासतमै छन्।

धरौटीमा रिहा हुनेहरुमा काठमाडौंको टोखा नगरपालिका–१० घर भई मनमैजी बस्ने ३३ वर्षीय बिक्रम अधिकारी, तनहुँको व्यास नगरपालिका–२ घर भएका ३२ वर्षीय सुवास कायस्थ, सोही ठाउँका सुरज कायस्थ, नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ घर भइ गोंगबु बस्ने २९ वर्षीय कमल तामाङ, नुवाकोटकै ककनी–५ घर भइ गोंगबु बस्ने ३५ वर्षीय नीरज तामाङ, रघु तामाङ र विनोद तामाङ धरौटीमा रिहा भएका छन्। उनीहरु सातै जना जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जनही ८ हजार धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ।

यो समूहका मुख्य नाइके तथा गुण्डा नाइके भनेर चिनिएका नुवाकोटको ककनी–५ का ३३ वर्षीय सानुभाइ भनेर चिनिने युवराज गुरुङ भने अहिलेसम्म हिरासतमै छन्। उनी प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा छन्। उनी पटके भएका कारण उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। मुद्दाको थुनकेछ नसकिएकाले उनी अहिलेसम्म हिरासतमै रहेको प्रहरी स्रोतले जानकारी दियो।

नुवाकोट सूर्यगढी गाउँपालिका–१ घर भएका राजेन्द्र गुरुङले ठमेलमा सञ्चालन गरेको क्लब ओम्नियामा ग्याङसहित छिरेर सानुभाइको समूहले बाउन्सर तथा कर्मचारीलाई कुटपिट गरेका थिए। आफू असुरक्षित भएको भन्दै राजेन्द्र प्रहरीको शरणमा पुगेका थिए। त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर मुद्दा चलाएको हो।

प्रतिक्रिया