

बागमती प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

काठमाडौँ – बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । आज (बुधबार) दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन्।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काले दिएको जानकारीअनुसार आज बिहान सूचना निकालेर प्रदेश सभा बैठक स्थगित गरिएको छ।
‘अर्को सूचना जारी नहुँदासम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो,’ उनले भने। मंगलबा नेकपाको प्रचण्ड(नेपाल पक्ष र सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालन गर्ने प्रतिवद्धता सभामुख श्रेष्ठको थियो।
दाहाल–नेपाल समूहका ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उक्त प्रस्तावमाथि छलफल गर्न सांसदहरूले माग गरिरहेका छन्।
मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । माघ ९ गते अविश्वास प्रस्ताव टेबुल भएको थियो । तर प्रस्तावमाथि छलफल सुरु हुन सकेको छैन । पछिल्लो पटक यही माघ १९ गते बोलाइएको बैठक अघिल्लो राति आकस्मिक सूचना जारी गर्दै फागुन ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो

