

आफ्नै निर्वाचन क्षेत्रको ‘त्यो पिल्लर’ हेर्न छुन चहाँदैनन् प्रचण्ड

चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रको चर्चा अहिले चलेको छ। केही साता अघि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको निर्वाचन क्षेत्रमा पुगेर राम अयोध्यापुरीमा जन्मिएको र सोही क्षेत्रमा पर्ने उल्लेख गरेका थिए।
यसले नेकपा विवादसहित भएका कतिपय सभामा चर्चा पायो। मंगलबार पनि प्रचण्डले यस प्रसङ्गलाई उप्काए र राम जन्मिएको प्रमाणित भए खुसी हुने बताए। अघिल्लो आम सभामा ओलीको आलोचना गर्दा यो झूठा कुरा रहेको भनी प्रचण्डले चर्चा गरेका थिए।
यसको जवाफ ओलीले बुटवलमा भएको एउटा कार्यक्रममा दिए। ‘म सुडा सुडेनी खोज्दै जाऊँ? कौशल्याको छेउमा राम जन्मिँदा मै थिएँ त?’, ओलीको टिप्पणी थियो।
प्रचण्डको यो विवाद एकातिर भए पनि आफ्नो निर्वाचन क्षेत्रको एउटा पिल्लर भने उनले अहिलेसम्म छोएका छैनन् भने हेर्न पनि हिचकिचाउँछन्। निर्वाचनका बेला माडीवासीसँग ६ बुँदे सम्झौता गरेका उनी बाँदरमुढे पुग्दैनन्। चुनावका बेला पनि उनी त्यहाँ पुगेका थिएनन्।
बाँदरमुढेमा तत्कालिन माओवादीले युद्धका बेला थापेको धरापमा बम विस्फोट भई मारिएका ३८ जनाको प्रतिमा पिल्लर बनाइएको छ। प्रचण्ड त्यसलाई हेर्न र छुन चहाँदैनन्। ‘निर्वाचन क्षेत्रमा धेरै पटक आउनु भएको छ। तर उहाँलाई अलिकति पनि जनता मारिएको विषयमा भावुकता छैन, त्यो प्रतिमा छुनु हुन्न।’
चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा नै उक्त प्रतिमा पनि पर्दछ।
वाम गठबन्धनको चुनावी सभामा भाग लिन माडी गएका प्रचण्डले माडी घटनाबारे आफूले त्यतिखेर नै माफी मागेको बताएका थिए। त्यसपछि एउटा सम्झौता गरी चुनावमा होमिए। तर ति सम्झौता अहिलेसम्म पनि कार्यान्वयन भएको छैन, बरु पार्टी विभाजनको अवस्थामा पुगीसकेको छ। एक स्थानीय भन्छन्,‘प्रचण्डले जनतालाई जहिल्यै पनि जाली कुरा गरे, चुनावका बेला पनि जाली कुरा भयो।’
तर प्रचण्डले बाँदरमुढे घटनामा आफूले पटक–पटक माफी मागेको र त्यसका दोषीलाई कारबाही हुने समेत बताउँदै आएका थिए। ‘बाँदुरमुढे घटनाबारे मैले सुनेपछि पार्टीको सशस्त्र संघर्षको सबैभन्दा ठूलो गल्ती भयो भनेर भोलिपल्टै वक्तव्य निकालेको थिएँ’, उनले भन्ने गरेका छन्।
अध्यक्ष प्रचण्ड माडीको बसन्तपुर बजारमा एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका माओवादीका नेताकार्यकर्ताहरुको सम्झनामा माल्यार्पण गर्छन् तर बाँदरमुढे घटनास्थलमा बनाइएको स्मारकतिर फर्किँदैनन्। ‘उनको भाषामा मात्र गल्ती गरेको भन्ने छ, व्यवाहारले देखाउन सक्तैनन्। ति निर्दोषका आत्मालाई सलाम गर्नु पर्दैन?’, स्थानीय अहिले पनि प्रश्न गर्छन्।
बाँदरमुढे घटनाका पीडित कृष्ण अधिकारीले चुनावकै बेला पक्राउ गरिन्छ भनेर प्रचण्डको कार्यक्रममा नगएको बताएका थिए। यस्ता अन्य ७२ भन्दा बढी पीडित छन् जो प्रचण्डसँग निक्कै रिसाएका छन्।

