कांग्रेसले बालकृष्ण खाँणलाई तत्काल निलम्बन गर्नु पर्छ : महामन्त्री थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले शरनार्थी प्रकरणमा संलग्न देखिएका कसैलाई पनि बचाउ गर्न नहुने बताएका हुन्। उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा नाम जोडिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्बन गर्नुपर्ने माग गरे।

थापाले अनुसन्धानमा पार्टी जोडिनु नहुने बताउँदै दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्नेमा जोड दिए। महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको अपराध भएको उल्लेख गरे ।

उनले कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जे स्वतः निलम्बनमा पर्ने बताए । उनले पार्टीको बैठकमा यसबारे छलफल भएपनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले त्यसलाई तोडेर भएपनि निलम्बन गर्न आवश्यक रहेको उल्लेख गरे।

गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु नहुने उनको भनाइ थियो । उनले पार्टीका नेताहरु भ्रष्टाचारी भए पनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क गरे।

प्रतिक्रिया