डिएसपी बढुवाको लागि इन्स्पेक्टरहरु बिदामा !

आईजी कुँवरलाई चुनौती बनिदियो डिएसपी बढुवा, बरियतालाई नै पछ्याउँछन् कि कासमूअनुसार बढुवा गर्नेछन् त्यो हेर्न बाँकी !


काठमाडौं – नेपाल प्रहरीमा अब बढुवाको पालो छ – प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) बढुवा । प्रहरी प्रधान कार्यालयकाअनुसार हाल प्रहरी संगठनमा ४४ डिएसपी पद रिक्त छ । रिक्त पदको लागि ९ चैत २०७० सालमा इन्स्पेक्टर भएका टोली प्रतिस्पर्धामा रहेका छन् ।

उक्त ब्याचका १ सय ४७ जनामध्ये हरिहर सुनार निलम्बनमा परेका छन् । त्यस्तै नविन श्रेष्ठको सवारी दुर्घटनामा मृत्यु भयो भने तुलसा खतिवडाले जागिरबाट राजीनामा दिइन् । त्यसैले उनीहरु बढुवाको दौडमा छैनन् । अब डिएसपी बढुवाको दौडमा १ सय ४४ जना मात्र इन्स्पेक्टरहरु छन् ।

प्रत्यासीहरुमध्ये कोही इलाका इन्चार्ज छन् भने कोही ट्राफिक इन्चार्ज छन् । त्यस्तै कोही प्रधान कार्यालयमै, तालिम केन्द्र, सिआईबी, प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान कार्यालय, जिल्ला तथा गणमा कार्यरत छन् । बढुवाको मुखमा अधिकांश इन्स्पेक्टरहरु काठमाडौंमा देखिएका छन् ।

सम्भवतः एक साताभित्र डिएसपी बढुवा हुनेछ । छिटै बढुवा हुने खबर पाएसँगै राजधानी बाहिर रहेका ०७० को इन्स्पेक्टरहरु विदा मिलाएर काठमाडौं आएका छन् । ठूलाठूला नेताहरुको समेत बसाई काठमाडौंमा भएपछि बढुवाको फोर्स लगाउन काठमाडौं आएका हुन् । ठूलो टोली भएकाले गर्दा पहिलो लटमै बढुवा हुन चर्को दौडधुप रहेको छ ।

केही इन्स्पेक्टरहरु त बढुवा गरिदिन पर्यो भन्दै नेताहरुको घरदैलोमा पुगेर पैसाको चलखेल समेत गर्न थालेका छन् । उनीहरु बढुवाको लागि विचौलियाहरुलाई भेटेर पैसा बुझाउन समेत पछि नहट्ने मनस्थितिमा छन् । जसले गर्दा आईजीलाई डिएसपी बढुवा चूनौती हुने देखिएको छ ।

 

कारबाही खाएकादेखि विवादित इन्स्पेक्टरहरु दौडमा

सिरियलअनुसार जाँदा १ देखि ४४ सम्मका सबै इन्स्पेक्टरहरु सक्षम र इमान्दार पनि छैनन् । प्रधान कार्यालयको तथ्यांकअनुसार यो बीचका ५ जना कारबाहीमा परेका छन्– कसैलाई नसिहद वा सचेत गरिएको छ भने कसैलाई निलम्बन नै गरिएको छ । भिषणबाबु राई, मधु नेपाल, टेकेन्द्र शर्मा पौडेल, वेद पौडेल र लक्ष्मण ओली कारबाही खाएका अधिकृत हुन् ।

त्यस्तै बोधराज रेग्म र ऋषिराम घर्तीमगर पनि संगठनमा विवादित अधिकृत हुन् । उनीहरुमाथि कमाण्डिङ क्षमता कमजोर रहेको आरोप छ । त्यसैले उनीहरु इन्चार्ज बस्दा छोटो समयमै तानिएका छन् । उनीहरु पनि यतिबेला काठमाडौंमै रहेर बढुवाको लागि दौडधुप गरिरहेका छन् ।

यस्तै बरियताअनुसार ४४ पछिका बसन्त गौतम, पञ्चलाल गोले, लोक बहादुर जिसी, होम प्रकाश चौधरी, नवराज न्यौपाने, हिरा सिंह महरा, अनिल पण्डित संगठनमा कारबाही खाएका अधिकृत हुन् । उनीहरु पनि बढुवाको लागि भन्दै विदा नै बसेर दौडधुपमा लागेको बताइएको छ ।

 

आईजीले बढुवामा यी कुरा हेर्नैपर्छ

बढुवाको लागि कार्य सम्पादन मूल्यांकन, बरियता, शैक्षिक योग्यता, तालिम, दुर्गममा काम गरेको अनुभुव, पुरस्कार पाएको जस्ता कुरालाई आधार मानिन्छ । जसले गर्दा काबिल अफिसरहरुको मनोबल बढ्नेछ र आम जनमानसमा समेत प्रहरीप्रतिको विश्वास बढ्नेछ ।

हाम्रालाई भन्दा राम्रालाई प्रोत्साहन गरेर आईजीले प्रधान कार्यालयभित्र मात्रै बसेर हाकिमको चाकडी गर्नेलाई बढुवा गर्ने र फिल्डमा काम गर्ने अधिकृतलाई अन्याय गर्न नहुने बहालवाला एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बताउँछन् । उनी प्रश्न गर्छन्, ‘खाली हेडक्वार्टर बसेर फिल्डमा काम गर्नेलाई के आधारमा बढुवा गर्ने ?’

फिल्डमा काम गर्ने नै कारबाहीमा पर्ने ती एआईजीको भनाइ छ । ‘लगातार हेडक्वार्टर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बस्नेको न कारबाही हुन्छ– र, पनि उनीहरुले नै बढी नम्बर पाउँछन् । रियल पुलिसिङ पनि गर्दैनन् । त्यसैले सधैं घर अफिस गरेर जागिर खानेलाई पुरस्कृत गर्न हुँदैन,’ ती एआईजी थप्छन् ।

फिल्डमा राम्रो ड्युटी गर्नेलाई बढुवा गरेर आईजीले राम्रा अधिकृतलाई अगाडि ल्याउनुपर्ने सर्वत्र माग छ । ‘फिल्डमा काम गर्दाको दुःख स्वयम् हालका आईजीलाई थाहा नै छ । काम हेरेरै तत्कालिन नेतृत्वले आईजी कुँवरलाई कसरी एक नम्बरमा ल्याएका थिए । यो कुरा आईजीले बुझ्न जरुरी छ,’ प्रत्यासीका एक इन्स्पेक्टरले भने ।

 

विवादमा आउन चाहेका छैनन् आईजी

१० चैतमा बसन्त बहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजी) नियुक्त भएपछि क्रमशः सिनियर प्रहरी अधिकृतहरुको बढुवा गरे । एआईजी ४, नायब महानिरीक्षक (डिआईजी) १३, बरिष्ठ उपरक्षिक (एसएसपी) १८ र प्रहरी उपरीक्षक (एसपी) मा २२ जनाको बढुवा भयो ।

एआईजी बढुवा बरियताअनुसार हुँदै गर्दा खासै विवाद आएन । तर, डिआईजी बढुवा विवादमा पर्यो । बरियताअनुसार नहुँदा डिआईजीका प्रत्यासी रहेका चक्र बहादुर सिंहले बढुवामा छुटेपछि असन्तुष्टि जनाउँदै नेतृत्व र संगठनको विरोध गरे । काविल अफिसर मानिएका उनलाई बढुवा नगर्दा साँच्चै नै अन्याय भएको थियो ।

डिआईजी बढुवामात्र नभएर एसएसपी र एसपी बढुवा झनै विवादित बन्न पुग्यो । एसएसपीका प्रत्यासी अर्थात् बहालवाला एकजना एसपीले कुँवरलाई चुनौती नै दिए भने अर्का एसपीले जागिरबाटै राजीनामा दिए । जतिबेला एसएसपी बढुवा बरियता र कार्य सम्पादन मूल्यांकन दुवैलाई आधारित मानेर निकालिएको थिएन ।

कासमूअनुसार निकालेको भए संगठनमा अब्बल मानिएका अधिकृत पक्कै पछि छुट्ने थिएनन् र बरियताअनुसार भाको भए पनि १८ सम्म कोही छुट्दैन थिए होला । तर, राजनीतिक दबाबको कारण आईजी कुँवरले एसएसपी बढुवामा कासमू पनि हेरेनन् र बरियता पनि ख्याल गरेनन् । जसले गर्दा प्रहरी नेतृत्वको क्षमतामाथि नै प्रश्न उठ्यो ।

त्यस्तै २९ वैशाखमा २२ जना एसपी बढुवामा सिफारिस भए । उक्त बढुवामा आईजी कुँवरले इमान्दार र काबिल अफिसर नचिन्दा आलोचित बन्न पुगे । बरियतालाई पछ्याउँदा आईजी कुँवरले विवादित अधिकृतलाई बढुवा गरेर पुरस्कृत गरेर राम्रालाई छुटाएको आरोप लाग्यो ।

डिएसपी बढुवामा उक्त अरोपलाई चिर्न आईजी कुँवरलाई त्यति सहज त छैन । राजनीतिक दबाबलाई परास्त गर्दै अघि बढ्न समेत सहज नभएको समयमा चुनौती बनिदिएको डिएसपी बढुवामा आईजी कुँवरले बरियतालाई नै पछ्याउँछन् कि कासमू हेरेर बढुवा गर्नेछन् त्यो हेर्न बाँकी छ ।

यसअघिको बढुवा जे जस्तो भएपनि डिएसपी बढुवा आईजी कुँवरको ‘अग्नीपरीक्षा’ समेत हुने प्रत्यासीहरु बताउँछन् । तर, आईजी कुँवर बरियताभन्दा पनि कासमूको आधारमा बढुवा गर्ने रणनीतिमा रहेको बुझिन्छ । त्यसैले डिएसपी बढुवामा बरियता सँगै मुख्यतयः कासमूलाई हेरिने आईजी सचिवालय स्रोतले बतायो ।

यसो गर्दा कार्यसम्पादन मूल्याङ्कनको पनि अर्थ हुनेछ । मुख्तयः बढुवाका लागि वरिष्ठता र कार्य सम्पादन मूल्यांकनलाई महत्त्वका साथ लिइन्छ । यो दुवैलाई हेरेर मात्र बढुवा गर्ने पक्षमा आईजी कुँवर छन् । यदि बरियता नै हेरेर बढुवा गर्ने हो भने पटक पटक कारबाही भोगेकाहरु पुनः पुरस्कृत हुनेछन् । जसले झनै आईजीलाई विवादमा तान्नेछ ।

को-को छन् १ देखि ४४ सम्मको बरियतामा

१. कमल वेल्बासे

२. रञ्जन अवा

३. विकास बम

४. आयुष जोशी

५. कमलराज पण्डित

६. दीपक मल्ल

७. राजेशराज पुरी

८. अनमोल खड्का

९. धन बहादुर बोहरा

१०. ऋषिराम घर्तीमगर

११. वेद बहादुर पौडेल

१२. लक्ष्मण ओली

१३. इन्द्रजित इटनी

१४.प्रताप पौडेल

१५. सुधीर राई

१६. बोधराज रेग्मी

१७. प्रकाश बुढाथोकी

१८. रघुसिंह बिष्ट

१९ं वीर दत्त पन्त

२०. रमेश कुमार श्रेष्ठ

२१. टेकेन्द्र शर्मा पौडेल

२२. गंगा बहादुर सारु

२३. टेक बहादुर जोरा

२४. हरि प्रसाद पौडेल

२५. चेतना पोखरेल

२६. यम कुमार श्रेष्ठ

२७. प्रविण कार्की

२८. रमेश दत्त अवस्थी

२९. अनिल ठकुरी

३०. जनार्दन घिमिरे

३१. गुणराज बुढाथोकी

३२. चन्द्र कुमार सिंह

३३. चक्रबहादुर मल्ल

३४. पुरुषोत्तम कार्की

३५. हिरेन्द्र रोकाया

३६. भिषणबाबु राई

३७. राजु खत्री

३८. सुर्य बहादुर बोगटी

३९. हिम बहादुर खत्री

४०. दयाकृष्ण भट्ट

४१. जीवन निरौला

४२. मधु नेपाल

४३. खगेन्द्र धमला

४४. मोहनजंग बुढाथापा

प्रतिक्रिया