
अर्घाखाँचीमा आगलागीमा परेर ४ जनाको मृत्यु, ४ जना पक्राउ
सन्धिखर्क – अर्घाखाँचीक भूमिकास्थान नगरपालिका २ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी बनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भुमिकास्थान २ ढाकाबांगको बेल्वासेमा बनमा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो ।
आगो लगाउने भुमिकास्थान २ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दिपक बिक, ७० वर्षीय देविराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जंगली जनावरले सताएर आगो लगाएको उनीहरुले स्विकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले जानकारी दिए।
गत बैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो। एक जना महिला अझै उपचाररत छिन्। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यान सम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्रयाँइ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो नियममा ६ महिनादेखि दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने उल्लेख छ । अदालतबाट पाँचदिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै सन्धिखर्क ७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क ३ खाँचीखर्कमा आगो लगाउने ५० वर्षीय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जनाउने, हेलचेक्राँई गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ । ‘हेलचेक्राँई गर्नेलाई कारवाहीको दायरामा ल्याउँछौं,’ डिएसपी रिजालले भने,‘फागुनदेखि असारसम्म सबै चनाखो बन्नुहोला ।’



कागजपत्र |
