प्रधानमन्त्रीको भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर नहेर्न मन्त्री शर्माको आग्रह


काठमाडाैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर नहेर्न आग्रह गरेकी छिन् । ​

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा उनले नागरिकताको विषय सरकारको हतारको विषयभन्दा पनि आमनागरिक र जनताको विषय भएको बताइन् । ‘आजसम्म नागरिकता नपाउँदा कयौँ समस्या पैदा भएको छ, मानिसको जीवनसँग जोडिएका विषयलाई सरकारले छिटोभन्दा छिटो टुङ्गाउने पक्षमा छ’ उनले भनिन् ।

यस्तै सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय उनले जानकारी दिइन् । १७ वर्षदेखि जिउँदो शहीदका रूपमा चिनिएका कायस्थको गत बुधबार ३२ वर्षको उमेरमा निधन भएको थियो ।

आन्दोलनका क्रममा विसं २०६२ चैत २७ गते मुकेशको कञ्चटमा गोली लागेको थियो । सरकारले मुकेशको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेका लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

त्यसैगरी आजको मन्त्रिपरिषद्ले सिँचाइ मन्त्रालयको प्रस्तावमा नयाँ बुटवल-लमही ४०० केबी प्रसारण लाइनअन्तर्गत मोतीपुर सवस्टेशनको लागि वाणगङ्गा नगरपालिकामा १५ बिघा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउनको निम्ति अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा राष्ट्रिय योजना आयोग सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई यही जेठ १ देखि ५ गतेसम्म थाइल्याण्डमा हुने स्क्यापको ७९औं बैठकमा भाग लिन जान स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिइन् ।

जुम्लाको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा टर्मिनल भवन निर्माणको निम्ति करिब एक सय ८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृत प्रदान गर्ने सरकारको निर्णय छ । जेठ ७ देखि १६ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजित वर्ल्ड हेल्थ सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्रीलाई स्वीकृति दिने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया