दिपायल विमानस्थलमा सीता एयरको परीक्षण उडान


डोटी – सुदूरपश्चिम प्रदेशको दिपायल विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ ।

चौध जना सिट क्षमता भएको सीता एयरले दिपायलबाट कैलालीको धनगढी तथा नेपालगञ्जका लागि नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो । दिपायल विमानस्थलमा सीता एयरको परीक्षण उडान सफल पनि भएको छ । नेपालगञ्जदेखि दिपायलका लागि भएकोे पहिलो उडान सफल भएको सीता एयर नेपालगञ्जका स्टेसन म्यानेजर राजीव शर्माले बताए ।

उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एक साताभित्रै नियमित उडान शुरु गरिने उनले जानकारी दिए । दिपायल विमानस्थलमा उडान शुरु गरिसकेपछि यात्रुको चापका आधारमा नियमित वा साप्ताहिक उडान भर्ने भन्ने निर्णय गरिने उक्त एयरलाइन्सले जनाएको छ । सीता एयरको जहाजले डोटीको दिपायल विमानस्थलसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका बझाङको चैनपुर, अछामको साफेबगर र बैतडीको पाटन विमानस्थलमा समेत परीक्षण उडान गरेको डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए ।

उनले भने, ‘डोटीसहित यहाँका तीन अन्य विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ, सबैमा सफल भएको छ, अब त जहाज चल्छ कि ?’ सीता एयरले सुदूरपश्चिम प्रदेको पहाडी जिल्लामा रहेका तीनवटै जिल्लाका विमानस्थलमा यसअघि पनि परीक्षण उडान गरिएको थियो । विमानस्थलमा जहाज अवतरण भने नियमित छैनन् । यहाँका पहाडी जिल्लामा रहेका अन्य विमानस्थलमा उडानका लागि दिपायल विमानस्थल भने सबैभन्दा उपयुक्त मानिँदै आएको छ ।

डोटी जिल्लामा हवाई उडानको सम्भावना निकै रहेकाले पनि यहाँ जहाज नियमित भए सबैलाई सहज तथा फाइदा हुने स्थानीयवासी तथा कांग्रेस नेता घनश्याम पाठकले बताए । दिपायल विमानस्थलबाट केही महिनायतादेखि धनगढीसम्मका लागि समिट एयरलाइन्सले साप्ताहिक उडान भरिरहेको छ । अब दिपायल विमानस्थलबाट सीता एयरले नियमित धनगढी उडान भरे आन्तरिक उडानमा प्रतिस्पर्धा हुने र भाडादरमा समेत केही सस्तो हुने अपेक्षा गरिएको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रबहादुर शाहीले बताए ।

जिल्लामा भरपर्दो हवाई सुविधा नभएका अवस्थामा सीता एयरले नियमित उडान शुरु गरेपछि यहाँका नागरिकलाई ठूलो राहत हुने दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले बताए । दिपायल विमानस्थलमा नियमित उडान नहुँदा यहाँका यात्रुले हवाई सास्ती भोग्नु परिरहेको छ । सीता एयरको नियमित उडानपछि भने हवाई यात्रामा सहज हुने सर्वसाधारण बताउँछन् । चौध जना सिट क्षमता भएको सीता एयरले डोल्पा उडान शुरु गरेपछि कर्णालीका पाँचवटै जिल्लामा सेवा विस्तार भएको सीता एयरले जनाएको छ ।

सीता एयरको जहाजले परीक्षण उडान गरेकाले अब यहाँको हवाई सेवा नियमित हुने विश्वास स्थानीयमा जागेको छ । जिल्लामा नियमित हवाई सेवा नहुँदा तथा जिल्लाबाट काठमाडौँका लागि जहाज नपाउने भएका कारण यहाँका नागरिक धनगढी र नेपालगञ्ज पुगेर हवाई सेवा लिन बाध्य छन् । दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्नका लागि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा (संसद् भएको समयमा) कालोपत्र तथा स्तरोन्नतिका लागि रु आठ करोड बजेट विनियोजन गरेका थिए । विनियोजित बजेटमा सप्ना ग्याल्भा जेभी कन्स्ट्रक्सनले रु छ करोड ८० लाखमा ठेक्का कबुल गरी निर्माणको काम शुरु गरेको थियो ।

अहिले दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नति गरिएको छ । सशस्त्र द्वन्द्वका समयमा विमानस्थल सञ्चालनमा रहँदै आए पनि विसं २०६३ बाट यात्रु अभावका कारण देखाइ उक्त विमानस्थल पूर्णरूपमा बन्द भएको थियो ।

प्रतिक्रिया