

शक्ती प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त, चक्रपथभित्र सवारीसाधन प्रवेशमा रोक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले गर्न लागेको विरोध सभा र शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बिहान करीब ९ बजेदेखि नै रिङरोड भित्रका सडकहरूमा निकै लामो जाम छ । अहिले रिङरोडभित्र सवारीसाधन प्रवेश गर्न दिएको छैन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाको जामलाई मध्यनजर गरेर ठूला सवारी साधनलाई रिङरोड भित्र आउन दिइएको छैन ।
‘उपत्यकाको मुख्य ठाउँमा आमसभा हुने भएपछि हामीले चक्रपथभित्र आउन दिएका छैनौं,’ महाशाखा प्रवक्ता श्यामकृष्ण अधिकारीले भने, ‘साना सवारी साधन र निजी सवारी साधनलाई मात्र भित्र छिर्न दिएका छौं।’ घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटोसमेत बन्द गरिएको अधिकारीले जानकारी दिए।
१२ बजेपछि चक्रपथभित्र आउँदा वैकल्पिक सडकहरूको प्रयोग गर्न अनुरोध गरेको उनले बताए ।
बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रमा आन्दोलनकारीहरूको लाग्ने क्रम शुरू भएकाले ती क्षेत्रमा सवारी आवागमन ठप्प जस्तै भएको छ । लगातारको आन्दोलन र जुलुसका कारण उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ ।

