राजनीतिको सत्ता केन्द्रमा सुदूरः सरकार र प्रतिपक्षमा को कहाँ?


काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई राजनीतिक रुपमा व्यवाहारिक प्रेम देखाएका छन्।

मन्त्रिपरिषद पुनर्गठनका क्रममा यस प्रदेशका चार जनालाई क्याबिनेटमा राखेका उनले पार्टीको युवा दस्ताको नेतृत्वका लागि पनि सुदूरपश्चिमकै नेतालाई छानेका छन्।

ओलीले क्याबिनेटमा उद्योग मन्त्री लेखराज भट्टलाई नेकपा विवादअघि नै नियुक्त गरेका थिए भने सात जना मन्त्रीले राजीनामा दिएपछि सुदूरपश्चिमका अन्य तीन जना क्याबिनेटमा थपेका हुन्।

राजीनामा दिने मन्त्रीमा कञ्चनपुरकी बिना मगर पनि हुन्। जसलाई ओलीले मन्त्रिपरिषद गठनका बेला नै नियुक्त गरेका थिए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी गणेश ठगुन्ना, वन तथा भुसंरक्षण मन्त्रालयका जिम्मेवारी प्रेम आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी भए। सुदूरपश्चिमको इतिहासमा नै क्याबिनेटमा यति धेरै मन्त्री पाएको पहिलो पटक हो।

को हुन् सिंह?

८ वैशाख, २०७२ मा तत्कालिन नेकपा एमालेका भ्रातृ संगठन युवा संघको अध्यक्षको जिम्मेवारी कञ्चनपुरकी निरु पाललाई दिएका प्रधानमन्त्री ओलीले कञ्चनपुरकै युवा नेता बचन सिंहलाई राष्ट्रिय युवा संघको अध्यक्षको जिम्मेवारी दिएका छन्।

त्यसबेला महेश बस्नेतले राजीनामा दिएपछि निरु पाललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो। उनी प्रतिनिधि सभामा पुगेपछि अहिले सिंहले उक्त जिम्मेवारी पाएका छन्। यद्यपि, प्रतिनिधि सभा विघटन भइसकेको छ।

ओलीले सुदूरपश्चिमा चार मन्त्री र राष्ट्रिय युवा संघको जिम्मेवारी दिएर यस क्षेत्रले राष्ट्र र राजनीतिको नेतृत्व गर्न सक्ने विश्वास लिएको पुष्टि गरेका हुन्।

नेकपा युवा विभाग इन्चार्ज महेश बस्नेतसहितको अध्यक्ष मण्डलले युवा संघको जिम्मेवारी बाजुरा जिल्ला साविक (काँडा गाविस) हाल छेडेदह गाउँपालिकामा जन्मिएका बचनबहादुर सिंहलाई दिएको हो।

गाउँकै काँडा भवानी माविमा एसएलसीसम्मको अध्ययन पूरा गरेका सिंहले २०५३ सालमा कञ्चनपुरको महेन्द्रनगर झरेपछि राजनीतिको गति लिए।

आफ्नो अध्ययनलाई निरन्तरता दिँदै उच्च शिक्षा महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसबाट पुरा गरे। माध्यामिक शिक्षा अध्ययनका क्रममा उनी राजनीतिमा त्यति सक्रिय नभएको बाल्यकालमा उनीसँगै पढेका कैलाली पत्रकार महासंघका कोषाध्यक्ष हिमाल जोशी बताउँछन्।

‘प्राविमा अध्ययन गर्दा पनि सिंह लडाकु स्वभावकै भएका कारण कक्षाको ग्रुप लिडर बनाउथ्यौं’, जोशीले भने,‘पहाडमा राजनीति नगरेको व्यक्तिले कञ्चनपुरमा आएर राजनीति थलो बनाएको हो।’

सिंहको परिवार कैलालीको पहलमानपुरमा बस्ने भए पनि उच्च शिक्षाका लागि महेन्द्रनगर गएपछि राजनीतिकमा फड्को मार्ने मौका पाएका थिए।

१६ वैशाख २०६२ मा कञ्चनपुर भीमदत्तनगरस्थित जनज्योति क्याम्पसमा तत्कालिन शाही सेनाले अन्धाधुन्दा गोली चलाएर तीन जना विद्यार्थी घाईते भएका थिए। यस घटनाममा तत्कालिन अनेरास्ववियुका नेता नरबहादुर धामीको बाँया कानमा गोली लागेको थियो। सोही आन्दोलनमा सिंह पनि थिए। धामी कञ्चनपुर क्षेत्र नम्बर २ बाट सांसद भएका छन् भने राजनीति संघर्ष गर्दै जाँदा सिंह अहिले युवा संघ अध्यक्ष भएका हुन्। धामीपछि सिंहले कञ्चनपुरको नेतृत्व लिएको उनका सहकर्मीहरू बताउँछन्।

उनी अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष, केन्द्रीय सदस्य हुँदै युवा संघका सचिव समेत भएका सिंह नेकपा पार्टी विभाजनको संघारमा पुगेका बेला ओली पक्षबाट युवा संघको अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।

प्रतिपक्षमा को कहाँ?

नेपाली कांग्रेसको पार्टी सत्ता तथा भ्रातृ संगठनमा पनि सुदूरपश्चिमका नेताको राम्रो उदय भएको छ। त्यसको एउटा उदाहरण हुन् पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

उनले अहिले नेपाली कांग्रेस हाँकिरहेका छन्। यस्तै रमेश लेखकलगायतका नेता पनि कांग्रेसको केन्द्रमा नै देखिएका छन्। कांग्रेसको भ्रातृ संगठनमा पनि युवाको उदय भएको छ। त्यसका उदाहरण हुन् नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष ऐन महर। बझाङका उनले लामो सय विद्यार्थी राजनीतिको नेतृत्व गरी अहिले पार्टी राजनीतिमा सक्रियता देखाइरहेका छन्।

प्रतिक्रिया