वैशाख १७ र २७ गते चुनाव गर्ने सरकारको निर्णय


काठमाडौं – सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्ण गरेको हो ।

मन्त्रिपरिषदले आगामी वैशाख १७ गते देशका प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीका ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको हो।

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिइन् ।

त्यसपछि संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट परेका थिए। ती रिटहरुको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। संसद विघटन लगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि चुलिदै गएको छ।

एक समूहको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले गरेका छन् भने अर्को समूहको केपी ओलीले गरेका छन्। दुवै समूहले आफू नै आधिकारिक नेकपा दावी गर्दै आएका छन्।

प्रतिक्रिया