

सिरहामा आगलागीबाट चार घर जलेर नष्ट

सिरहा- सिरहामा भएको आगलागीबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सिरहा नगरपालिका-१८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्न बाली, कपडा, नगद र सुनचाँदीसहितका सामग्री जलेर नष्ट भएको हो ।
ठाकुरको घरबाट सुरु भएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामग्री जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए । उनले भने, ‘मेरो मात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ ।’
उनीहरूले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए । बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्योल भइरहेको छ ।’
राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
आगलागी पीडितहरूले आफूहरूलाई तत्काल दैनिक उपभोगका अति आवश्यक सामग्रीको खाँचो रहेको बताए । उनीहरूले त्यसका लागि स्थानीय सरकार र मनकारी हातहरूसँग सहयोगको अपेक्षा गरेका छन् ।
त्यसैगरी सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ । आगलागीका कारण कार्यालयमा रहेको बिल भर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत् सर्ट भएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

