

तातोपानीमा तीन वर्षपछि नेपाल–चीन सरकारी अधिकारीबीच वैठक, सीमा सुरक्षामा चीनकाे जाेड

काठमाडौं – सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा तीन वर्षपछि नेपाल र चीनका सरकारी अधिकारीबीच सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको छ ।
नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच तीन वर्षपछि हिजो बिहीबार सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले जानकारी दिए । बैठकमा नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका छलफलमा तातोपानी नाका पूर्णरूपमा खुलाउने विषय पनि उठेको छ ।
तर यो प्रारम्भिक चरणको छलफल मात्र भएकाले पूर्णरूपमा नाका खोल्नेबारे सहमति गर्न अब पहल हुने प्रमुख जिल्ला अधिकारी न्यौपानले बताएका छन् । चिनियाँ पक्षले तातोपानी नाका पूर्णरूपमा खुलाउन सीमा सुरक्षामा जोड दिएको छ । २०७२ सालको भूकम्पका कारण चार वर्ष ठप्प रहेको तातोपानी नाका कोरोनाका कारण पुनः प्रभावित भएको हो । तातोपानी नाका पहिला जस्तो सञ्चालनमा नआएका कारण व्यवसायीहरू निराश छन् ।
बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेका थिए । नाका खण्डहरझैं हुँदा निराश भएको सीमाभेगका जनप्रतिनिधिले बताएका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधी केसीले हाल दैनिक मुस्किलले चार वटा मात्रै सीमित कन्टेनर भित्रिने गरेकोले राजस्व वृद्धि समेत हुन नसकेको बताए ।
‘आर्थिक वर्ष ०७६-०७७ मा दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थ्यो, त्यतिखेर राजस्व मात्रै एक अर्ब ५९ करोड संकलन भयो, तर यसपटक लक्ष्यको ३५ प्रतिशत मात्रै जम्मा भएको छ’ उनले भने । यी महिनाभर आएका कन्टेनरबाट फलफूल, लत्ताकपडा, इन्डस्ट्रियल मेट्रियल जस्ता सामाग्री भित्रिएका छन् । त्यही कन्टेनर आएको बेला भन्सारको काम हुन्छ, अरुबेला पुरै कार्यालय सुनसान हुन्छ ।

