बहाना बनाएर अनलाइनमार्फत ठगी गर्ने दुई महिला पक्राउ


काठमाडौं – अनलाइनमार्फत् ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाकी ३२ वर्षीया दिपाञ्जली थापा भन्ने उषा कार्की र चितवनकी २० वर्षीया निकिता सुवेदी रहेका छन्।

उनीहरूविरूद्ध अनलाइनमार्फत् ठगी गरेको उजुरी परेपछि पक्राउ गरेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

उनीहरूले पीडितको मोबाइलमा फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ,काठमाडौंको बाँसबारीमा घर छ,युनिभर्सिटीबाट एमबीबीएस टपर डाक्टर हुँ, हाल विद्यालयसम्बन्धी शैक्षिक कार्यक्रमलगायत विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गर्ने काम गर्छु भनी झुठ्ठा बहाना बनाइ ईसेवा वालेटबाट रकम पठाउन बाध्य पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

प्रतिक्रिया