

बल्देधुरी घटना : दुई युवाको हत्या आरोपमा १६ जनालाई जन्मकैद

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ बल्देधुरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १६ जना युवालाई जन्मकैदको फैसला भएको छ। जिल्ला अदालत बागलुङले २०७७ चैत १५ गते होलीको दिन भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा मंगलबार १६ जना युवालाई जन्मकैदको फैसला गरेको हो।
जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको इजलासले अभियोग लागेर पुर्पपक्षमा परेका सबै युवालाई जन्म कैदको फैसला सुनाएको हो। घटनामा संलग्न एक बालकलाई सुधार गृह पठाइने भएको छ। २०७७ सालको चैत १५ गते होलीको दिन बडिगाडको वडा नम्बर १० सहित छिमेकी जिल्ला गुल्मी र प्युठानको सिमानामा रहेको बल्देधुरीमा मेला लागेको थियो।
स्वतस्फूर्त रूपमा लाग्ने मेलामा रमाउन गएका युवाहरूबीच होली खेल्ने क्रममा बडिगाड गाउँपालिका–१० र निसीखोला गाउँपालिका–७ का युवाहरूबीच दोहोरो झडप हुँदा दुईजनाको मृत्यु भएको थियो। घटनामा निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईंको ज्यान गएको थियो।
बडिगाड–१० का युवाहरूले कुटपिट गरेपछि भीरबाट खसालेर हत्या गरिएको आरोप लागेको थियो। घटनापछि प्रहरी अनुसन्धानमा पनि सोही कुरा खुलेको बताइएको थियो। घटनामा संलग्न भएको आरोपमा बडिगाड गाउँपालिका वडा नम्बर १० का १८ जना युवा पक्राउ परेका थिए।
पक्राउ परेकामध्ये १५ जनालाई जन्मकैद भएको हो। दुई जना तारेखमा छुटेका थिए। एक जना उच्च अदालतको आदेश र अर्का सर्वोच्चको आदेशमा छुटेका थिए। आदेश मानेर पुर्पक्षमा बसेका सबैलाई अदालतले जन्मकैदको फैसला गरेको हो।
मुलुकी फौजदारी संहिताको दफा १७७ (२) अनुसार उनीहरूलाई जन्मकैद फैसला भएको हो। जन्मकैद सजाय अनुसार उनीहरू सबैलाई २५ वर्ष कैद हुनेछ। घटना हुँदाका दिन १८ वर्ष नपुगेका एक बालकलाई भने सुधार गृह पठाइने भएको हो।

