
हप्ता असुलीमा सई र हवल्दार नै संलग्न !
सइ सुशील चन्द र सहायक हवल्दार नन्दराज भट्टको जिम्मेवारी खोसेर अनुसन्धान सुरु
धनगढी – तस्करी र हप्ता असुलीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना प्रहरीको जिम्मेवारी खोस्दै छानबिनको तयारी गरेको छ ।
हप्ता असुलीको आरोप लागेका जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी प्रमुख रहेका प्रहरी नायब निरीक्षक (सइ) सुशील चन्द र सहायक हवल्दार नन्दराज भट्टको जिम्मेवारी खोसेर उनीहरुमाथि अनुसन्धान सुरु गरिएको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले दुवै जनालाई जिम्मेवारीबाट हटाएर छानबिन थालिएको जानकारी दिए । ‘उहाँहरुका विषयमा प्रश्न उठाउदै बेनामी उजुरी परेपछि तत्काल जिम्मेवारीमुक्त गरेर मैले आन्तरिक छानबिन अघि बढाएको छु,’ एसपी पालले अनलाइनखबरसँग भने, ‘दोषी देखिएको अवस्थामा कारबाही गछौं ।’
जिल्ला प्रहरी कार्यालयमा सादा पोशाकका प्रहरीका रूपमा कार्यरत चन्द र भट्टले कैलालीका विभिन्न क्षेत्रबाट तस्करीको सामान भित्र्याउने गरेको तथा तस्करीमा संलग्न व्यक्तिहरुबाट हप्ता असुली गर्ने गरेको भन्दै कारबाहीको मागसहित बेनामी उजुरी परेको थियो । उक्त उजुरीमा व्यक्तिहरुका नामसमेत उल्लेख गर्दै उनीहरुबाट लिइएको रकम समेत राखिएको छ ।



कागजपत्र |
