
पाल्पाको तानसेनमा खानेपानीको समस्या झन् बढ्यो
पाल्पा – डेढ दशकदेखि खानेपानीको समस्या भोग्दै आएका पाल्पाको तानसेनबासी पछिल्लो समय झन् समस्या भोग्दै आएका छन् । जिल्लाको सदरमुकाम तानसेनमा खानेपानीको समस्या झन् विकराल बन्दै गएको छ ।
खानेपानीको उचित व्यवस्थापन नहुँदा समस्या बढ्दै गएको हो । पाँच वर्षअघिसम्म दुई-तीन दिन बिराएर धारामा पानी आउथ्यो । अहिले एकसातामा एक पटक आउने गरेको स्थानीयको भनाइ छ । स्थनीय सन्दीपलाल शाक्यले भने, ‘पहिले बरु धारामा एक÷दुई दिन बिराएर पानी आउथ्यो अहिले एक सातामा पनि धारामा एकघण्टा पानी आउन गाह्रो छ ।’
कालीगण्डकी खानेपानी योजना सम्पन्न हुन ढिलाई हुनु, भुल्के र सिस्नेको मुल सुक्दै जानु तथा अव्यवस्थित वितरण प्रणालीले तानसेनबासी खानेपानीको समस्याबाट पीडित बनेका हुन् । उपभोक्ता समितिले समेत पारदर्शी र प्रभावकारी रुपमा काम गर्न नसकेको उपभोक्ताको गुनासो छ । खानेपानी उपभोक्ता समितिको पदावधि सकिएको तीन वर्ष बितिसकेको छ । नयाँ उपभोक्ता समिति गठन हुन नसक्दा र समितिले प्रभावकारी काम गर्न नसक्दा तानसेनबासीले खानेपानीको समस्या भोग्नुपरेको तानसेन भगवतीटोलका स्थानीय बासिन्दाको गुनासो छ ।
तानसेनमा खानेपानीको वितरण प्रणाली समेत न्यायोचित छैन । कतै एउटै घरमा दुई(तीन वटा धारा जडान भएका छन्, कतै एउटा धारा पनि वितरण भएको छैन । वितरण प्रणाली समेत वैज्ञानिक नहुँदा समान रुपमा खानेपानी वितरण हुन नसकेको उपभोक्ताको भनाई छ । तानसेनमा चार हजार बढी धारा वितरण भइसकेको र त्यसका लागि दैनिक ३० लाख लिटर खानेपानीको आवश्यकता छ । तानसेन नगरपालिकाले पनि खानेपानी ब्यवस्थापन गर्न सकिरहेको छैन ।
तर दैनिक छ÷सात लाख लिटर खानेपानी मुल ट्याङ्कीमा खस्ने गरेको उपभोक्ता समितिले जनाएको छ । खानेपानीको माग धेरै छ तर आपूर्ति कम हुँदा खानेपानी वितरण गर्न समस्या भएको उपभोक्ता समितिका अध्यक्ष पुरनमान बज्राचार्यले बताउछन् । पुरानो पाइप बिग्रदा र पम्प बिग्रँदा झनै समस्या हुने गरेको बज्राचार्यले बताए ।



कागजपत्र |
