सीआईबीको अर्को सफलताः गुप्तचर थापालाई बाँकेमा हत्या गरी फरार परियार समातिए


काठमाडौं– बाँके जिल्लामा नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धा विभागमा कार्यरत प्रविण थापाको हत्या गरी फरार रहेका अभियुक्त विवेक परियारलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले भक्तपुरमा पक्राउ गरेको छ।

२७ बर्षिय थापा विभागमा सहायक सूचकका रुपमा कार्यरत रहेका थिए। नेपालगञ्ज उपमहानगरपालिका–१८ मा बस्ने थापाको शव टाउको र अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रारम्भिक अनुसन्धानमा नै थापाको हत्या भएको आशंका गरी अनुसन्धान थालेको थियो। सो क्रममा सीआईबीसँग सहयोग माग गरिएको थियो।

हत्या गरी फरार रहेका परियार भक्तपुर चाँगुनारायण नगरपालिका–९मा लुकिछिपी रहेको अवस्थामा विहीबार पक्राउ गरिएको सीआईबी प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।

‘पक्राउ गरिएका परियारलाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न बाँके जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ’, सीआईबी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) सहकुल थापाले भने,‘पत्राचारका आधारमा हामीले अनुसन्धान गर्दै जाँदा अभियुक्तलाई भक्तपुरमा फेला पारेका हौं।’

प्रतिक्रिया