कारबाहीमात्र हैन सामाजिक अपराध नियन्त्रणमा चेतनाको बाटोतिर पनि मकवानपुर प्रहरी


हेटौंडा– समाजमा अनेक प्रकारका अपराधका नियन्त्रण विविध उपायलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपनाउन थालेको छ।

भर्खरै मात्र सरुवा भएर नेतृत्वको जिम्मेवारीमा आइपुगेका प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले प्रहरी समुदाय साझेदारी अन्तर्गत अपराध नियन्त्रणको चेतनाको पाटोलाई अगाडि बढाएका छन्।

पहिलो क्रममा बाल बिवाह नियन्त्रणका लागि रोकथाम प्राथमिक हुने अन्तरक्र्रियालाई मकवानपुर प्रहरीले अगाडि बढाएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा विभिन्न धार्मिक संघ संस्थामा आवद्ध अगुवाहरुले बाल विवाह नियन्त्रण र रोकथामका लागि आफ्ना समुदायमा चेतनास्तर उठाउने र प्रभावकारी भूमिका देखाउने प्रतिवद्धता देखाएका छन्।

‘मूलतः जानी नजानी सामाजिक चेतनाको कमीले पनि बाल बिवाह जस्ता घटना हुन्छन्। यसमा प्रहरीले जानको कानुनी पाटोसँगै यस्ता चिज कस्ता अपराधमा पर्छन् र रोक्ने दायित्व कसको हो भन्ने विषयमा जानकारी गराउनु दायित्व हुन्छ’, एसपी राठौर भन्छन्,‘सकभर यस्ता घटना नभएको नै राम्रो भन्ने हेतुले प्रहरीको यो साझेदारी कार्यक्रम पनि सुरु गराइएको थियो।’

हेटौँडाको भुवनेश्वर मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डेले भने,‘धार्मिक रुपमा पनि यस्ता सामाजिक कुरीतिलाई रोक्नका लागि चेतना दिन सकिन्छ। त्यस काममा हामी सक्रिय भएर लाग्नेछौं।’

नेपाल तामाङ घेदुङ जिल्ला सचिव आत्माराम मोक्तान, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, कलाकार सुसान्त श्रेष्ठ, नेवार समुदायबाट महेश्वरमान श्रेष्ठ, इसाई समाजका सचिव मिलन सेढाईं, हेटौँडा जामे मस्जिदका अध्यक्ष जावेद हुसेनलगायतले आफूले प्रभाव राख्न सक्ने समुदायमा बाल बिवाह गैर कानुनी भएको र गराउन नहुने चेतनाबारे जानकारी गराउने प्रतिबद्धता गरे।

मकवानपुर प्रहरी प्रमुख राठौरले बाल विवाहको बर्तमान अवस्था र विद्यमान कानुनी व्यवस्था बारे उपस्थितहरुलाई जानकारी गराएका थिए ।

‘समुदायसँगको साझेदारीले नै अपराध न्यूनिकरण हुन्छ। जुनसुकै अपराधको उपचार कानुनी वा कारबाही मात्र होइन बरु हुन नदिनका लागि प्रहरीको पहल पनि मुख्य हुन्छ’, राठौर भन्छन्,‘त्यहि उद्देश्यले कार्यक्रम गरिएको हो।’

प्रतिक्रिया