

संखुवासभामा प्रतिनिधि सभा र प्रदेश सभा (१) मा गबन्धन र (२)मा एमाले विजयी

काठमाडाैं – संखुवासभाको प्रतिनिधि सभामा सत्ता गठबन्धन दलले जितेको छ । प्रतिनिधि सभा सदस्यमा गठबन्धन दल नेपाली कांग्रेसका दीपक खड्का र प्रदेश सभा (१)मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभाका उम्मेदवार खड्काले ३२ हजार १५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा.इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार ७१९ मत प्राप्त गरे । खड्काले ५ हजार ४३९ मतान्तरले विजयी भए ।
विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । कांग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भीडन्त हो । खड्का कांग्रेस संखुवासभाका जिल्ला सभापतिसमेत हुन् । जिल्लामा प्रतिनिधि सभातर्फ ६५ हजार ३३७ मत खसेको थियो । त्यसमध्ये २ हजार ७५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी दिएका थिए ।
प्रदेश सभा (१)मा माओवादी विजयी
प्रदेश सभा (१)मा माओवादी केन्द्र कार्कीले १३ हजार ४३३ मत ल्याएर निर्वाचित भएका छन् । कार्की ३४ मतान्तरले विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका भविश्वर गुरुङले १३ हजार ३९९ मत ल्याए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेश सभा (१)मा ३१ हजार ५०४ मत खसेको थियो । प्रदेश सभामा २०६४ र २०७४ मा माओवादी र २०७० मा कांग्रेसले जितेको थियो । यस निर्वाचनसहित माओवादी केन्द्रले तेस्रोपटक प्रदेश सभा (१)मा जितेको छ ।
प्रदेश सभा(२) एमाले विजयी
प्रदेश सभा(२) मा सदस्यमा नेकपा (एमाले)का विदुरकुमार लिङ्थेप निर्वाचित भएका छन् । एमालेका लिङ्थेपले १५ हजार ४८२ मत ल्याएर निर्वाचित भए । उनका निकटम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का सरिता थापाले १५ हजार २४२ मत ल्याइन् ।
एमालेका लिङ्थेप २४० मतान्तरले विजयी भएका हुन् । विजयी लिङ्थेप मादी नगरपालिकाका निवर्तमान प्रमुख थिए । गठबन्धनको साथ पाएका थापा यसअघि समानुपातिकबाट प्रदेश सभा सदस्य भई सामाजिक विकास समिति सभापति भइसकेका छन् । एमालेका लिङ्थेप र समाजवादीकी थापा पूर्वसहकर्मीसमेत हुन् । प्रदेश सभा(२)मा ३४ हजार मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित ८ जनाको उम्मेदवारी परेको थियो ।

