

प्रधान सेनापतिद्वारा निरीक्षण भ्रमण

काठमाडौं – प्रधान सेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ को सुरक्षा तयारी एवं वस्तुस्थितिका बारेमा जानकारी हासिल गरी आवश्यक निर्देशन प्रदान गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरूमा निरीक्षण भ्रमण गरेका छन् ।
उहाँले सोमबार मकवानपुर जिल्ला, हेटौँडास्थित मध्य पृतना हेडक्वार्टर, सिन्धुली जिल्ला, माझीटारस्थित ९ बाहिनी अड्डा र सुनसरी जिल्ला इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणको दौरान उनले उक्त पृतना हेडक्वार्टर तथा बाहिनी अड्डा तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरूसँगको समन्वय लगायत आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन समेत दिएका थिए ।
सोही क्रममा प्रधान सेनापति शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षा सम्बन्धी जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न आग्रह पनि गरे । निरीक्षण भ्रमणमा रक्षा मन्त्रालयका सहसचिव प्रकाश पौडेलको समेत सहभागिता रहेको थियो ।
दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति शर्माले मंगलबार पनि मोरङ, उदयपुर, काभ्रेपलान्चोको गण र बाहिनीको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

