कोटेश्वर–कलंकी सडकखण्डमा ट्राफिक बत्ती जडान गरिने


काठमाडौं – सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलंकी सडकमा सात स्थानमा बत्ती राख्न लागेको बताइएको छ ।

विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी हिड्ने स्थानमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालू आर्थिक वर्ष भित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालू आवमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उनको भनाइ छ । उनले भने, ‘यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।’

बढी सवारी चाप भएका ठाउँमा बत्तीका कारण सवारीसाधन व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालू आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ ।

पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिए । ती बत्ती जडानका लागि एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया