

आचारसंहिता विपरीत प्रचार गर्ने शिक्षकलाई सोधियो स्पष्टीकरण

जाजरकोट – निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार प्रसार गर्ने ८ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिको निर्देशन अनुसार तीनवटा स्थानीय तहले निर्वाचन आचार संहिता २०७९ को विपरीत सामाजिक सञ्जालमार्फत उम्मेदवारको पक्षमा फोटो सहितको पोष्टर बनाई भोट मागेको पाइएकाले स्पष्टीकरण सोधिएको हो।
आचारसंहिता अनुगमन अधिकारी वीर शम्शेर घर्तीका अनुसार बारेकोट गाउँपालिका-३ स्थित दीपेन्द्र मावि मुल्साममा कार्यरत शिक्षक मानबहादुर शाही, बारेकोट-२ लिम्सामा कार्यरत विरेन्द्र ऐश्वर्य माविमा कार्यरत शिक्षक महेन्द्रबहादुर सिंह, सोही गाउँपालिका-४ स्थित गोरख आधारभूत विद्यालयमा कार्यरत शिक्षक मिनराज सिंह, कुशे गाउँपालिका अन्तर्गतका मालिकादेवी आधारभूत विद्यालय विलकोटमा कार्यरत शिक्षक देवबहादुर शाही र सोही गाउँपालिका मान्ने ढुङ्गा माविमा कार्यरत दलसिं वली तथा नलगाड नगरपालिका-४ स्थित ज्ञानेन्द्र प्राथमिक विद्यालयका शिक्षक सेतेन्द्र बोहरा र जनकल्यान आधारभूत विद्यालयमा कार्यरत शिक्षक मदन रावललाई स्थानीय तह मार्फत स्पष्टीकरण सोधिएको हो।
ती शिक्षकलाई निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ बमोजिम किन कारवाही हुन नपर्ने हो? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र लिखित जवाफसहित आफू कार्यरत स्थानीय तहका कार्यालयमा आफैं उपस्थित हुन भनिएको छ।

