

निकुञ्जकै हात्तीको आक्रमणबाट कर्मचारीको मृत्यु

पर्सा – पर्सा राष्ट्रिय निकुञ्जका एक कर्मचारीको शुक्रबार निकुञ्जकै हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । ठोरी गाउँपालिका – ५ स्थित गडुवा लाइन पोस्टमा फनैत पदमा कार्यरत २८ वर्षीय रमेश महराको मृत्यु भएको हो ।
१६ वर्ष उमेरको हात्ती कामिनी कलीले शुक्रबार साँझ ४ बजे महरालाई सुँडले हिर्काएको थियो । महराले उक्त हात्तीलाई चराएर आएपछि बाँध्ने क्रममा हात्ती उग्र भई उनीमाथि प्रहार गरेको थियो ।
मृतक महरा बारा जीतपुर उमनपा-१५ का बासिन्दा हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले घटनापछि पोस्टबाट बहिरिएको हात्ती करिब ३ घन्टापछि पोस्ट नजिकै देखा परे पनि उसलाई नियन्त्रणमा लिन सकिएको छैन ।
चितवन निकुञ्जबाट प्राविधिक टोली बोलाएर डाट गरी हात्तीलाई नियन्त्रणमा लिने प्रयास भइरहेकोे छ । पोस्टमा २ कामिनी कलीसहित २ हात्ती छ्न । ती हात्तीले गस्ती र पर्यटकलाई निकुञ्ज भ्रमण गराउने काम गर्छन् । स्थानीयहरूका अनुसार सोही हात्तीले ४ वर्षअघि पनि एक नेपाली सेनाका जवानलाई आक्रमण गर्दा ती व्यक्तिको मृत्यु भएको थियो ।

