

दैलेखमा विद्युत, सञ्चार र यातायात सेवा बन्द

दैलेख – एक सातादेखि लगातार परेको वर्षाका कारण दैलेखमा सडक, सञ्चार र विद्युत सेवा बन्द भएको छ । ठाउँ–ठाउँमा पहिरो गएका कारण विद्युत, सञ्चार र यातायात सेवा बन्द भएको हो। एक ठाउँको पहिरो हटाउनासाथ फेरि अर्को ठाउँमा पहिराे खस्ने गरेका कारण सडक सञ्चालन हुन सकेकाे छैन ।
पहिरोले नै विद्युतका पोल ढल्दा बिजुली आपूर्तिमा समस्या भएको, एक ठाउँमा बनाइसक्दा अर्को ठाउँमा पोल ढलेका कारण विद्युत् सेवा सुरु गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण दैलेखले जनाएको छ ।
विद्युत् आपूर्तिमा अवरोध र लगातारको वर्षाले विकल्पमा काम गर्ने सोलार चार्ज हुन नसकेका कारण दैलेखका चार वटा पालिकामा एफएम रेडियोको प्रसारण र तीन वटा दैनिक पत्रिका प्रकाशनसमेत रोकिएको छ ।
यस्तै नेपाल टेलिकम र एनसेलका बीटीएस टावर बन्द भएका कारण मोवाइलमा नेटवर्क आएकाे छैन । जिल्लाका विभिन्न २९ ठाउँमा यी दुई कम्पनीका बीटीएस टावर छन् । जिल्ला सदरमुकाममा नेपाल टेलिकम र एनसेलले जेनेरेटरबाट बीटीएस टावर चलाएका कारण सदरमुकाम र आसपासमा मात्र मोबाइल नेटवर्क र नेपाल टेलिकमको ल्यान्डलाइन चलेका छन् ।
वर्षाका कारण ठाउँ–ठाउँमा गएको पहिरोले दैलेख जिल्लामा पर्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग र सुर्खेत–दैलेख सडक अवरुद्ध भएका छन् ।

