

अछामका पहिरो प्रभावितलाई सरकारको जनही एक लाख राहत

अछाम – सरकारले अछामका पहिरो प्रभावितलाई जनही एक लाख रुपैयाँ नगद राहत प्रदान गरेको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नगदसहित राहत वितरण गरे । मन्त्री कुँवर काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेर राहत वितरणपछि काठमाडौं फकिएका छन् ।
कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन पनि गरे । शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा परी अछाममा २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही एक लाख र आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई वितरण गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।
बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारकातर्फबाट तत्काल किरिया खर्चबापत जनही एक लाख रकम वितरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।
मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमलबजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहत सामाग्री पनि वितरण गरेका छन् ।
मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाको सम्पुर्ण उपचार सरकारले व्यहोर्नेसमेत बताएका छन् । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आस्वासन पनि दिएका छन् ।

