

सन्दीप क्यानको सम्पर्कमा, क्यानसँग गरे कानुनी सहयोगको अपेक्षा

काठमाडौं – नाबालिका करणी आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँग सहयोग मागेका छन्।
सन्दीपसँग क्यानले सम्पर्क गर्दा सन्दीपले कानुनी उपचारका लागि सहयोगको अपेक्षा राखेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जनाए ।
हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।
क्यानलाई सन्दीपले लिग सकेपछि नेपाल फर्कने बताएका छन्। साथै उनले कानुनी उपचारका लागि क्यानसँग सहयोग मागेको पनि मल्लले बताए।
सिपिएल आगामी अक्टोबर १ सम्म हुँदैछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।
यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका तत्काल केही छानबिन नगर्ने बताइसकेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बुधबार बताएका थिए।
‘सन्दीपको बारेमा अहिले पुष्टि भइसकेको छैन, यो सुनियोजित पनि त हुन सक्छ, यदी सन्दीपले अनुशासन नै तोडेको हो भने त कानुनी कारबाही हुनुपर्छु’, क्यान अध्यक्ष चन्दको भनाइ छ। उनले कानुनीरुपमा पुष्टि नभइञ्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने बताए।
महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।

