अख्तियारको छानबिनमा रहेका थापा एआईजीमा बढुवा

२३ सय दरबन्दी रहेको अनुसन्धान विभागमा दरबन्दी नै थप गरेर भागबन्डा, प्रचण्ड निकटका हुतराज थापा र देउवा निकटका ओम जोशीलाई एआइजी बनाइयो


काठमाडौं – सरकारले अन्ततः २ हजार ३ सय दरबन्दी रहेको राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा दरबन्दी थप गर्दै दुई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी)  बनाएको छ । भदौ १३ मा अवकाश जाने तयारीमा रहेका दुई अनुसन्धान निर्देशक (डीआईजी) हुतराज थापा र ओम जोशीको बढुवा गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक एआईजीको दरबन्दी थप गर्दै थापा र जोशीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

विभागका डीआईजीमध्ये २०७४ भदौ १४ मा बढुवा भएका ४ अधिकृतहरु मुख्य प्रतिस्पर्धामा थिए । बढुवा प्रत्यासीमा डीआईजीहरु हुतराज थापा, ओम जोशी, हरिहर पौडेल र सुनील ढकाल थिए ।

बढुवामा पहिलो नम्बरमा परेका थापाविरुद्ध दोहोरो नागरिकता लिएको विषयमा अख्तियारको छानबिनमा रहेका व्यक्ति हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मा निकटका थापा विभागभित्र विवादित अधिकृत पनि हुन् । उनी एसपीका रुपमा भक्तपुरमा रहँदा कार्यालयकै आधिकारिक लेटरप्याड प्रयोग गरि बालुवा उत्खनन् गर्नेहरुबाट आर्थिक लाभ लिएको विषयमा समेत विवादमा परेका थिए ।

थापाको बढुवामा पूर्व प्रमुख दिलीप रेग्मीले विशेष भूमिका खेलेको स्रोतले दाबी गरेको छ । रेग्मीले एकमात्र एआईजी दरबन्दी रहेको विभागमा थापाकै बढुवाका लागि प्रचण्डसँगको सेटिङ मिलाएको सं्रोतले जनाएको छ । भदौ १३ मा अनिवार्य अवकाश पाउन लागेका थापा र जोशीले अवकाश पत्र बुझे पनि त्यहीबीचमा दरबन्दी थप गर्दै बढुवा हुन सफल भएका छन् ।

अब यी दुईको बढुवाबाट आगामी भदौ २८ गते अनिवार्य अवकाशमा जान लागेका वर्तमान मुख्य अनुसन्धान निर्देशक अर्थात् आईजी यदुलाल खरेलपछिको नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।

विभागको नेतृत्वका लागि थापा र जोशी दुवैले अबको एक महिनासम्म शक्ति परिचालनको अवसर प्राप्त गरेका छन् ।

थापा प्रचण्ड नजिकका हुन् भने जोशी सुदूरपश्चिमका भएका कारणले उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिएको जनाइएको छ । प्रधानमन्त्री कार्यालयको मातहतमै रहेको विभागको नेतृत्वमा देउवाले आफ्नो रोजाइको व्यक्तिलाई नेतृत्व सुम्पने कुरा निश्चित भएको पनि स्रोतले दाबी गरेको छ ।

विभागभित्र राजनीतिक चलखेलका कारण विभिन्न परिघटना सार्वजनिक भएपछि सरकारभित्र भने ३८ हजार दरबन्दी रहेको सशस्त्र प्रहरी बलमा २ जनामात्र अतिरक्ति प्रहरी महानिरीक्षक (एआईजी) भए पुग्ने तर २ हजार तीन सय दरबन्दी रहेको विभागमा २ एआईजी किन चाहिने भन्ने प्रश्न उठेको छ ।

 

प्रतिक्रिया