काभ्रेस्थली घटना : प्रहरीले उठायो मृतकको शव


काठमाडौं – प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ । पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो ।

आज विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

पारिवारिक विवादले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार सुनिताको माइती पक्षले निष्पक्ष छानविनको माग गर्दै शव उठाउन गरेपछि शव उठाउन ढिलाइ भएको हो ।

माइती पक्षका अनुसार पति दिनेश र सुनिताबीच विवाद रहेको स्वीकार गर्दै दिनेशले सम्बन्धबिच्छेद गर्न चाहेको बताएका छन् । तर सुनिताले अस्वीकार गरेका थिए ।

अनुसन्धानका लागि त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक डा।गोपाल चौधरी नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । त्यसका साथै प्रहरी वृत महाराजगञ्जका प्रमुख डिएसपी प्रमेश विष्टको नेतृत्वमा थप टोली परिचालन गरिएको छ

प्रहरीका अनुसार घटनास्थलमा ‘सुसाइड नोट’ पनि भेटिएको छ, जुन दिनेशको भएको मानिएको छ । सुसाइड नोटमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । प्रहरीका अनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।

प्रतिक्रिया