कर्णाली प्रदेशमा सर्वदलीय बैठक निष्कर्षविहीन


काठमाडाैं – कर्णाली प्रदेश सभाको बैठक सञ्चालन गर्नका लागि बुधवार दिउँसो बोलाइएको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ। सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले मंगलवार प्रदेशसभा बहिष्कार गरे पश्चात् स्थगित भएको र बैठक सञ्चालन गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् ।

सभामुख शाहीले बुधवार बोलाएको सर्वदलीय बैठकमा छलफलको टुंगो लाग्न नसकेको जानकारी दिए । ‘आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निष्कन सकेन,’ सभामुख शाहीले भने, ‘अब फेरि अर्काे बैठक बसेर छलफल हुन्छ ।’

मंगलवार प्रदेश सभाको दशौं अधिवेशनको २६औं बैठकको शुरूमै माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दलको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरेको बताए ।

प्रतिक्रिया