डिएसपी केसीमाथि ‘ट्रयाक रेकर्ड’ राख्ने गरी विभागीय कारबाही


काठमाडौं – गुन्डा नाइके समीरमान बस्नेतलाई जेलमै भेट्न गएका प्रहरी वृत्त स्वयम्भुका तत्कालीन प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसीलाई प्रहरी प्रधान कार्यालयले विभागीय कारबाही गरेको छ ।

डीएसपी केसीले बिदाका दिन २९ जेठ गते हत्या आरोपमा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेका थिए । जेलमा रहेका कैदीलाई प्रहरी अधिकारीले बिदाको दिन बिना कुनै जानकारी भेट्न गएको भन्दै डिएसपी केसीमाथि छानबिन गर्न काठमाडौं प्रहरी परिसरका उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले बनेको थियो । उक्त समिटिले डीएसपी केसीले पदीय मर्यादा नाघेर अमृत केसी भनिने व्यक्तिलाई गुन्डा नाइके भेटाउन सहयोग गरेको ठहर गर्दै प्रहरी नियमावलीअनुसार विभागीय कारबाही सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई नसिहत दिएको हो । केसीलाई ट्र्याक रेकर्ड राख्ने गरी नसिहत दिइएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए । नसिहत पाएका प्रहरी अधिकारीलाई एक वर्षसम्म शान्ति मिसनको अवसरबाट बञ्चित गरिएको हुन्छ । त्योबाहेक उनले संगठनबाट पाउने अन्य सुविधासमेत पाउँदैनन् ।

उनले बिदाको दिन गुण्डा नाइकेलाई भेटेको समाचार बाहिरिएसँगै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रविन्द्र धानुकले रानीपोखरी तानेका थिए ।

प्रतिक्रिया