तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन पर्यटन श्रमिकको माग


काठमाडाैं – पर्यटन क्षेत्रका श्रमिकहरुले गठबन्धन सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्य बृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल ट्रेकिड्ड- ट्राभल्स- -याफ्टिङ -एयरलाएन्स -श्रमिक यूनियन (युनिट्राभ) र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर यूनियन(नेस्वहोमयू) ले विज्ञप्ति जारी गरेर इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘इन्धनमा भएको मूल्य बृद्धिसँगै सार्वजनिक यातायात लगायत मानवीय आधारभूत आवश्यकताका दैनिक उपभोग्य सामानहरूमा स्वतः मूल्य बृद्धि हुने भएकोले सर्वसाधारण जनता र विशेष गरी पर्यटन क्षेत्रमा काम गर्ने लाखौं श्रमिकहरुप्रतिको बाँच्न पाउने मौलिक अधिकारलाई यो सरकारद्वारा कुण्ठित गरिएको छ । सरकारले अहिले गरेको बाहानाबाजी र जस्तो सुकै तर्कहरु पेश गरे पनि श्रमिकमारा निर्णय तत्काल फिर्ता लिनु पर्दछ ।’

मूल्य बृद्धि पछिपनि नेपाल आयल निगमलाई मासिक ४ अर्ब ७० करोड घाटा हुने देखाएर भविष्यमा अझै बढ्न सक्ने संकेत गर्दै वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले इन्धनको मूल्य बृद्धि गर्नुमा बाध्यता भएको बताउनु दुःखद रहेको श्रमिक संगठनहरुको भनाइ छ ।

प्रतिक्रिया