इन्भेष्टमेन्ट र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता, ३४ अर्ब चुक्ता पुँजीको बैंक बन्ने


काठमाडाैं – नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। शुक्रवार २ बैंकबीच मर्जरमा जाने (एक आपसमा गाँभिने) सम्झौता भएको हो । हिमालयन बैंकसँग १४ महिनाअगाडि नै गरेको मर्जर सम्झौता भाँडिएपछि इन्भेष्टमेन्टले मेगासँग नयाँ सम्झौता गरेर मर्जरमा जाने भएको छ ।

यी २ बैंकको मर्जर भएर औपचारिक रूपमा एकीकृत कारोबारपछि नेपालकै ठूलो वाणिज्य बैंक बन्ने भएको छ। यी दुवै बैंकको मर्जरले ३४ अर्ब चुक्ता पुँजीको वाणिज्य बैंक बन्ने भएको छ । अहिले चुक्ता पुँजीको हिसाबले सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई हो, यसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ ।

मर्जरसँगै दुवै बैंकको शेयर कारोबार भने अब एउटै भएर एकीकृत सेवा शुरू नगरेसम्मका लागि रोकिने छ । यी २ बैंकबीच शुक्रवार भएको सहमतिअनुसार मर्जरपछि नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हुने भएको छ । यी २ बैंकले गरेको सहमतिअनुसार शेयर संरचना नेपाल इन्भेष्टमेन्ट बैंक र मेगाबीच १००ः९० अनुपातमा हुनेछ ।

इन्भेष्टमेन्टको १०० रुपैयाँको शेयर अनुपात हुँदा मेगाको भने ९० रुपैयाँ मात्रै हुनेछ । मर्जरपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ ज्योति पाण्डे बन्ने भएका छन् ।हाल मेगा बैंकका सीईओ नभएकाले पनि इन्भेष्टेमन्टलाई सीईओ नै दाबी गर्न पनि सहज भएको हो ।

बैंकको डेपुटी सीईओ भने रविना देशराज बन्ने भएकी छन् । मर्जरपछि बैंकको नयाँ नामबाट एकीकृत कारोबार भने ६ महिनाभित्रै हुने गरी सहमति भएको छ ।

प्रतिक्रिया