बर्दियामा वन्यजन्तुबाट पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडाैं – बर्दियाको मधुवन नगरपालिकामा आज साेमवार वन्यजन्तु पीडित प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा केही घाइते छन् । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।
मधुवनको ओराली बजारमा अहिले पनि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले गुलरिया–राजापुर सडक खण्ड बन्द गरेका छन् । आज दिउँसो बाघको आक्रमणमा परि मधुवन नगरपालिका २ कि ४१ वर्षीया अस्मिता थारु घाइते भएपछि आक्रोशित स्थानीयवासीले प्रदर्शन गरेका हुन् ।
घर नजिकैको जङ्गलमा घाँस काट्न जाँदा थारुलाई बाघले आक्रमण गरी घाइते बनाएकाे हो । थारुको अहिले जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । वन क्षेत्रमा तारबार गरी वन्यजन्तुबाट हुने आक्रमणको दिगो समाधानको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।