झलनाथ खनाल भन्छन् – तत्कालै वामपन्थी एकताको सम्भावना कम छ


काठमाडाैं – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताको सम्भावना निकै कमजोर रहेको बताएका छन् ।

शनिवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले तत्काल वामपन्थी दलहरूबीच एकताको आवश्यकता भए पनि त्यो सम्भावना भने अहिलेलाई कमजोर रहेको बताएका हुन् ।

‘वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यकता हो । तर, यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरू अहिले वामपन्थी एकताको पक्षमा देखिनु हुन्न,’ उनले भने, ‘यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना निकै कमजोर छ ।’

यस्तै उनले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताए । उनले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गरेका हुन् ।

उनले आफूहरूको असन्तुष्टि सत्तारुढ दलहरूको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रियासमेत दिए ।

प्रतिक्रिया