‘ओलीले एमालेलाई बपौती बनाए’


काठमाडौं – नेकपा (एकीकृत समाजावादी) का बरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेलाई केपी ओलीले बपौति बनाएर विधिअनुसार नचालाएकाले आफूहरुले विद्रोह गरेको बताएका छन्।

एकीकृत समाजवादीको शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले क्रान्तिकारी परिवर्तनका लागि विद्रोह गरिएको बताए।

‘दक्षिणपन्थी अवसरवादतर्फ पार्टीलाई धकेल्ने, पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने, व्यक्तिस्वार्थ र पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटकपटक लत्याएकाले, पार्टीलाई वपौति बनाएर विधिअनुसार नचलाएकाले हामीले विद्रोह गरेका हौँ,’ खनालले भने।

माक्र्सले पनि आफैले गठन गरेको कम्युनिष्ट अन्तराष्ट्रिय विघटन गरेका एङ्गेल्सले दोस्रो अन्तराष्ट्रिय विघटन गरेको बताउँदै उनले यो विघटनको कारण दक्षिणपन्थ र संशोधनवाद नै रहेको बताए।

पाँचौँ महाधिवेशनले पारित गरेको जबजलाई नेपालको संविधानले समेटेको बताउँदै उनले जबज पुँजिवादी जनवादी क्रान्तिकै रुप भएको र अब जबज हाम्रो मार्गदर्शक सिद्धान्त बन्न नसक्ने भएकाले माक्र्सवाद लेनिनवाद नै मार्गदर्शक सिद्धान्त हुने बताए।

विचारको वहस, छलफल र अध्ययनलाई तीब्रता दिएर पार्टीलाई वैचारिक सुस्पष्टता दिर्नुपर्ने सुझाव दिए। सैद्धान्तिक फौज नभइ पार्टी बन्न नसक्ने भएकाले अध्ययन शैलीमा सुधार गर्दै सैद्धान्तिक वैचारिक कामलाई नै प्राथमिकतामा राख्नुपर्नेमा खनालले जोड दिएका छन्।

प्रतिक्रिया