
निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही गर्नू : आयोग
काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको काममा खटिन इन्कार गर्ने कर्मचारीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय, संवेदनशील कारण परेको अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न र उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको बताए।
प्रवक्ता पौडेलले मतदान कार्यको लागि खटिएका सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको पनि जानकारी गराए ।



कागजपत्र |
