भरतपुर महानगर र डडेल्धुरा जिल्लाकाे निर्वाचन देउवालाई टाउको दुखाई


नेपाली कांग्रेसका क्रियाशिल सदस्य, शुभेच्छुक र समर्थककै हिसाव गर्दा माओबादी केन्द्रभन्दा तुलना गर्न नमिल्ने गरी भरतपुर महानगरमा कांग्रेस बलियो छ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दलबीचको गठबन्धन कायम राख्न कांग्रेसलाई ‘ब्याक’ गराए ।

धरातलिय बस्तुस्थित नबुझी आफू अनूकुल तालमेल गर्दा भरतपुरमा कांग्रेसका लोकप्रीय एवम् खारिएका नेता पूर्वसांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको ‘ज्यानको बाजी लगाएको कांग्रेस हुँ, कसैको प्रभावमा परेर उम्मेदवारी फिर्ता लिँदिन’ भनेपछि सभापति देउवालाई टाउको दुख्नु स्वभाविक नै हो ।

पूर्वसांसद पौडेलको योग्यता र क्षमतामाथि भरतपुर महानगरबासी र त्यसमा पनि कांग्रेसजनले अविश्वास गर्ने कारण र स्थिति पनि छैन । हार–जीत जे भए पनि उनको उम्मेदवारी गठबन्धनलाई अहिले फलामको चिउरा भएको छ ।
पौडेललाई फकाउन सभापति देउवाले गृहमन्त्री बालकृण खाँडलाई भारतपुर पठाएका छन् । तर आफ्नो पकड भएको क्षेत्रमा बारम्बार माओबादी अध्यक्ष प्रचण्डपुत्री रेणुलाई जिताई दिनु परेको भन्दै २०७४ सालकै स्थानीय चुनावमा चितवनबासीको गुनासो थियो ।

चितवनकै खराव दृष्टान्तलाई देखाएर कांग्रेसले ७ महिनापछि भएको प्रदेश र संघीय संसदको निर्वाचनमा शाख गुमाउन पुग्यो । माओबादी र त्यसमा पनि रेणुलाई कांग्रेसले लगाएको गुन माओबादीले पाँच महिनापछि सत्तामा हुँदै एमालेसँग लगनगाँठो जोडेर गम्भीर धोका नदिएको होइन ।

तर, प्रचण्डको धोखालाई बिस्मृतिमा राखेर कांग्रेस नेतृत्वले अहिले गरेको गठबन्धन पनि कांग्रेसका चितवन जिल्लाका नेता मात्र होइन, केन्द्रीय कार्यसमितिका अधिकांस सदस्यलाई मन परेको होइन । तर निर्वाचित सभापति देउवाका सामू कांग्रेसका कुनै नेताको केही लागेन ।

तर अहिले परिस्थिति धेरै फरक छ । रेणुलाई जिताउन प्रचण्डले सभापति देउवासँग गठजोडको रणनीति लिन सक्ने आंकलन भरतपुर महानगरका कांग्रेसीहरुले नगरेका होइनन् । त्यसैले महानगरका २९ वडादेखि प्रदेश, क्षेत्र, महानगर र जिल्ला कार्यसमितिले औपचारिक रुपमा महानगरको नेतृत्व कुनै दललाई नदिने औपचारिक निर्णय गरेका थिए ।

पार्टी सभापति देउवाबाट अनुशासनको कारबाहीको डण्डा चल्ने बुझेर त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिनेश कोइराला र टेकबहादुर गुरुङ चुप लाग्न बाध्य भएका हुन भने जिल्ला सभापतिले पछि आएर गठबन्धन गर्ने पार्टी केन्द्रको निर्णय मान्न आव्हान गरेर औपचारिकता निर्वाह गरेका छन् । त्यसैले भरतपुर रेणुलाई चुनाव जित्न अहिले सहज छैन ।

यता सभापति देउवाले आफ्नो गृह जिल्ला डडेल्धुरामा एमालेसँग कांग्रेसका असन्तुष्टहरुले तालमेल गरेको र त्यसको योजनाकार भएको आरोपमा मंगलबार नै निर्वाचित प्रदेश सांसद तथा पार्टीका पूर्वजिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेका छन् ।

गृह जिल्लामा सल्केको आगो निभाउन छाडेर दन्काउे कर्मले आफ्नै गृह जिल्ला डडेलधुराका स्थानीय तहमा जित्न कांग्रेसले त्यति नै सकस देखिएको छ । दुई दुई पटक जिल्लाको नेृतृत्व गरेका मल्ललाई स्पस्टीकरणको मौका पनि नदिएर निष्कासन गरिएको छ । खैर उनी कतै उम्मेदवार बनेका थिएनन् ।

सभापति देउवाले नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भनेर मल्ललाई साधारण सदस्यबाट हटाए । अहिले मुख्यसचिव पौडेलले १६बैशाखसम्म उम्मेदवारी फिर्ता लिन भन्दै मल्ल निकटका स्थानीय तहका उम्मेदवारलाई फकाउनमा व्यस्त छन् ।

तर, मुख्यसचिव पौडेलको त्यो आग्रह युक्तिसंगत छैन । किनकी विपक्षी एमालेसँग साँठगाँठ गरेर उम्मेदवारी दिएका कर्ण मल्ल पक्षधर कांग्रेसका उम्मेदवारहरुले नेपाली कांग्रेस बीपीको तर्फबाट चुनाव चिन्ह कलस लिएर मैदानमा होमिएका छन् ।

अमरगढी नगरपालिकामा काँग्रेस बिपीबाट प्रमुखमा हरिप्रसाद भट्ट, अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा रामचन्द्र ऐर, गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र माली, भागेश्वर गाउँपालिका उपाध्यक्षमा नरबहादुर ठकुराठीसहित २१ वटा वडामा कलस चुनाव चिन्हधारी विद्रोही कांग्रेसले मनोनयन दर्ता गराएका छन् ।

पार्टीको १४औं महाधिवेशनमा ९ सय बढी अमुक सदस्यता थपेको विषयप्रति असन्तुष्टि जनाउँदै आएका मल्ल पक्षधर कांग्रेसका असन्तुष्ट कार्यकर्ता यतिवेला एमालसँगको गठबन्धनमा लागेका छन् । काँग्रेस राजनीतिको ३२ वर्ष डडेल्धुरामा क्रियाशिल भएका मल्ल आफूमाथि भएको कारबाही अप्रत्यासित नभएको प्रतिक्रिया सार्वजनिक भइसकेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै प्रतिष्पर्धा गर्दा डडेल्धुराका अधिकांस स्थानीय तह गुमाउनु परेको थियो । अबको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सभापति देउवालाई फलामको चिउरा चपाउनु सरह देखिन्छ ।

प्रतिक्रिया