प्रहरीमा एसएसपीको १२ सिट खाली, तीन ब्याचीबीच प्रतिस्पर्धा

एसएसपीमा बढुवा गर्न निर्वाचन आयोगको अनुमति, प्रधान कार्यालयले बढायो प्रक्रिया


काठमाडौं – नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया शुरु भएको छ। चुनावी आचारसंहिता लागेकाले निर्वाचन आयोगले अनुमति दिएसँगै प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो।

नेपाल प्रहरीमा हाल एसएसपी पदमा १२ सिट खाली छ। खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिइसकेको गृह स्रोतले जनायो।

निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसँग रिक्त पदमा बढुवा गर्न अनुमति मागेको थियो। सोही अनुरुप आयोगले मन्त्रालयलाई अनुमति दिएसँगै रिक्त पदको लागि प्रक्रिया अघि बढेको हो।

१२ सिटको लागि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। २०५१ चैतमा प्रहरी सेवामा प्रवेश गर्ने टोलीबाट प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन। उनी निर्मला पन्त प्रकरणमा निलम्बनमा परेर मुद्दा खेपेका प्रहरी अधिकृत हुन्।

कञ्चनपुरमा हत्या गरिएकी पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेका एसपी विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन्। पन्त बलात्कार तथा हत्याकाण्डमा तानिएका बिष्टमाथि लागेको निलम्बन फुकुवा भइसकेको छ। त्यसैले उनको प्रबल सम्भावना रहेको बताइन्छ।

त्यस्तै २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएको टोली समेत प्रतिस्पर्धामा रहेका छन्। उक्त टोलीबाट एसपी सिद्धिबिक्रम शाह बढुवाको दुई नम्बर बरियतामा छन्।

तर, उनी उनी रौतहटका पत्रकारलाई लागूऔषधको नक्कली कारोबारमा फसाएपछि चर्को विवादमा परेर हेडक्वार्टर तानिएका अधिकृत हुन्। उनी अहिले पनि एक नम्बरमा एसएसपीमा बढुवा हुनुपर्ने भन्दै साम, दाम र दण्डभेदको नीतिमा अघि बढेका छन्।

अहिले उनी ललितपुर जिप्रकामा कार्यरत छन्। रौतहट काण्डमा गठित छानबिन समितिले शाहले पत्रकार फसाउन खोजेको रिपोर्ट दिएकाले उनलाई बढुवा हुन त्यति सहज नभएको अर्काथरिको बुझाइ छ।

कारवाहीको सिफारिस गरिएका व्यक्तिलाई बढुवा गरिँदा नियम, कानुनको धज्जी उड्ने भन्दै सम्बन्धित अधिकारीहरुले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बतायो।

त्यस्तै राष्ट्रिय अनुसन्धानबाटै आएका सुशीलसिंह राठौर बढुवाको तेस्रो नम्बर बरियतामा छन्। उनी प्रहरी संगठनभित्र विवादरहित प्रहरी अधिकृत हुन्।

आफ्नो ब्याचबाट प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा हुँदा उनी एक नम्बरमा बढुवा भएका थिए। उनी काबिल प्रहरी अफिसरको रुपमा चिनिन्छन्।

एसपी राठौरले जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सफल कमाण्ड गरिसकेका छन्। हाल उनले बागमती प्रदेश टाफिक प्रहरी कार्यालयको कमाण्ड सम्हालिरहेका छन्।

त्यस्तै बढुवाको प्रतिस्पर्धामा क्रमशः माधव श्रेष्ठ, उमा चतुर्वेदी, डम्बर बिक, ओम राना, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, गणेश चन्द र बिमल बस्नेत रहेका छन्।

बस्नेत समेत विवादित प्रहरी अधिकृत हुन्। बस्नेत भ्रष्टाचार काण्डमा पाँच ग्रेड घटुवा भएका अधिकृत हुन्। उनले घुस रकम नियमित आफ्नो खातामा जम्मा गर्ने गरेको पाइएको थियो। उनले अदालतबाट हालै मात्र उक्त कारबाही बदर गर्न आदेश ल्याएको प्रहरी स्रोतको दाबी छ।

त्यस्तै एसपी राना समेत अनेकन काण्डमा मुछिएका प्रहरी हुन्। रसुवा छँदा यताबाट रक्तचन्दन पास गराउने र उताबाट सुन ल्याउनेलाई रानाले संरक्षण गरेको आरोप लागेको थियो। सोही काण्डमा सेनाका एक जना कर्णेलको जागिर समेत गएको थियो।

यस्तै गणेश चन्द नेपाल प्रहरीबाट करियर विकास गर्दै गएका अफिसर हुन्। भर्ना र तालिम नेपाल प्रहरीमा गरे पनि उनलाई पछि विशेष प्रहरीमा पठाइएको थियो। उनी दागंमा बस्दा गिटी बालुवा तस्करीमा मुछिए पनि प्रमाणित हुन सकेको थिएन।

त्यसैगरी एसपी सुरेन्द्र गुरुङ जिल्ला प्रहरी कार्यालय गोरखाको इन्चार्ज हुँदा रक्सी खाएर मातेको अवस्थामा भेटिएका भन्दै चर्को आलोचना खेपेका प्रहरी अधिकृत हुन्। त्यसपछि नै उनी गोरखाबाट तानिएका थिए।

यस्तै हिमालय श्रेष्ठ भक्तपुर इन्चार्ज भएर बस्दा काम गर्न नसकेको आरोप लागेको थियो। त्यसैगरी एसपी उमा चर्तुवेदी प्रहरी संगठनभित्र काबिल प्रहरी अफिसरको रुपमा चिनिन्छन्।

त्यस्तै एसएसपीमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी र दान बहादुर कार्की पनि प्रतिस्पर्धामा छन्। नयाँ ब्याचबाट प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की समेत काबिल प्रहरी अफिसर हुन्।

यसअघि ३० चैतमा बढुवा समितिले एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा गदर्न बरियतामा अगाडी रहेका अधिकृतलाई मात्र बढुवा सिफारिस गरेको थियो।

बढुवा हुनलाई एसएसपीको रिक्त १२ पदमा कम्तिमा आठजना राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरु पर्ने निश्चित देखिन्छ। बढुवामा डिल्लीराज बिष्ट एक नम्बर र बाँकी दुई नम्बरदेखि ११ नम्बरसम्म विभागबाट आएकाहरु छन्।

अन्तिम १२ नम्बरमा भने २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका एसपी बढुवा हुनेछन्। एसएसपीमा बढुवा गर्दा बरियतालाई कायम राखेको अवस्थामा २०५४ मा सेवा प्रवेश गरेका एकजना बढुवा हुनेछन्। उक्त ब्याचबाट १ नम्बर बरियता सूचीमा राजन अधिकारी रहेका छन्।

प्रतिक्रिया