स्थानीय निर्वाचनमा मकवानपुरमा १७ सय कर्मचारी खटिने


हेटौंडा – आसन्न स्थानीय निर्वाचन २०७९ का लागि मकवानपुरमा १ हजार ७६७ कर्मचारी र १ हजार ६८ स्वयंसेवक परिचालन गरिने प्रदेश कार्यालय मकवानपुरले जानकारी दिएको छ । निर्वाचन कार्यालयका शाखा अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनको तयारीका विषयमा कुरा गर्दै कर्मचारीबारे जानकारी दिए ।

१ मतदान केन्द्रमा मतदान अधिकृतसहित ५ कर्मचारी र २ देखि ३ जनासम्म स्वयंसेवक खटिने व्यवस्था रहेकोे छ । ५०० भन्दा बढी मतदाता भएको स्थानमा कर्मचारी र स्वयंसेवकसहित ८ र ५०० भन्दा कम मतदाता रहेको स्थानमा कर्मचारीसहित ७ जना स्वयंसेवक खटिने व्यवस्था भएको उनले जनाए ।

मकवानपुर जिल्लामा १६५ मतदानस्थलमा ३५६ मतदान केन्द्र रहेका छन् भने प्रत्येक पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने व्यवस्था रहेको अधिकृत पौडेलको भनाइ छ । १ मतदान केन्द्रमा अधिकतम १ हजार मतदाताले मतदान गर्ने व्यवस्था रहेको छ ।

मतदान केन्द्रमा मतदान अधिकृतसहितको कर्मचारीको खटनपटनको व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछ । गत चैत २९ गतेदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति र प्रशिक्षण भइसकेको छ । वैशाख ८ गतेदेखि जिल्लामा कार्यालय खोल्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरमा निर्वाचनको तयारी दु्रतरूपमा भइरहेको छ । निर्वाचनको माहोलसमेत बन्दै गएको पाइएको छ ।

विभिन्न स्थानमा निर्वाचनका विषयमा छलफल, बहस र प्रचारप्रसार भइरहेको छ । यसका लागि निर्वाचन कार्यालय मकवानपुरले स्थानीय तहको निर्वाचनका लागि ५३० पदका लागि निर्वाचनको आवश्यक तयारी गरिरहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया