राष्ट्रिय मान्यता नपाएका दलहरूले पनि पुरानै चुनाव चिह्न पाउने


काठमाडौ – निर्वाचन आयोगले आसन्न ७ सय ५३ स्थानीय तहको निर्वाचनको लागि चुनाव चिह्न निर्धारण गरी मतपत्रमा समावेश गरेको छ।

आयोगले गत ०७४ सालको प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त मत संख्याका आधारमा ६ वटा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलको निर्वाचन चिह्न निर्धारण गरेको हो।

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा सहभागी तथा यसअघिको स्थानीय तहको निर्वाचनमा भाग लिएका तर राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका दलहरूलाई पनि आयोगले यसअघिकै चुनाव चिह्न दिने भएको हो।

स्थानीय स्तरमा सक्रिय राजनीतिक दलका चुनाव चिह्न स्थानीय तहको निर्वाचनका लागि सोही जिल्लाका मतपत्रमा समावेश गर्ने आयोगले निर्णय गरेको छ।

स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलमध्ये ६ दलले राष्ट्रिय मान्यता प्राप्त गरेका छन्। २३ दलले अघिल्लो निर्वाचनमा भाग लिएका थिए भने यस पटकको निर्वाचनमा भाग लिन ४० दलले स्वीकृति पाएका छन्।

०७४ को चुनावमा समानुपातिकतर्फ नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४, नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९, नेकपा (माओवादी केन्द्र)ले १३ लाख ३ हजार ७ सय २१ र जनता समाजवादी पार्टी (जसपा) ले ९ लाख ४२ हजार ४ सय ५५ मत पाएका थिए।

 

प्रतिक्रिया