तनहुँमा कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूह र एमालेले चुनावी तालमेल गर्ने


काठमाडौँ– आसन्न स्थानीय तहको निर्वाचनमा तनहुँमा नेपाली कांग्रेसको कारबाहीमा परेका नेता तथा पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ। जोशी समूह र एमालेबीच तनहुँका सबै पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति भएको हो।
शनिबार एमाले र जोशी समूहका नेताबीच जोशीकै निवासमा निर्णायक छलफल भएको थियो।

गोविन्दराज जोशीका छोरा दीपकराज व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने तयारीमा छन्। उनले घोषणा पनि गरिसकेका छन्। अब एमालेले उनलाई व्यासमा नगप्रमुखको उम्मेदवारमा सहयोग गर्ने विषयमा निर्णायक छलफल गर्नेछ।

गत प्रतिनिधि सभाको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई असहयोग गरेको भन्दै पौडेलले पार्टीको अनुशासन समितिमा उजुरी दिएपछि जोशीलाई पार्टीले कारबाही गरेको थियो। । जोशी र पौडेलबीच सधैँ तिक्ततापूर्ण सम्बन्ध छ। कांग्रेसले पाँच वर्षका लागि जोशीलाई पार्टीबाट निष्काशन गरेको थियो। त्यति बेला जोशीले नेकपामा उम्मेदवार हालका एकीकृत समाजवादीका नेता तथा श्रम मन्त्री कृष्णकुमार श्रेष्ठलाई जिताउन भूमिका खेलेको आरोप छ। तनहुँमा जोशीको राम्रै समूह स्थापित छ। कांग्रेसको समानान्तर समूह तथा पार्टी पनि उनले खोलेका छन्। उनी कांग्रेसको राजनीतिमा नरहे पनि तनहुँमा उनी सक्रिय छन्।

प्रतिक्रिया