प्रचण्ड र माधव नेपाललाई विश्वप्रकाशले भने : आफ्नो हैसियतभन्दा धेरै सिट नखोज्नू


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन्।

नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिको वृहत कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए।

‘संविधान रक्षा गर्ने दलहरूसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रूपमा उदाउँछ,’ उनले भने।

उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे। गठबन्धनमा माधव नेपालले आफूलाई पुरानो एमाले सोचेर हैसियतभन्दा माथि उक्लेर भाग मागिरहेको प्रचण्डको गुनासो र कांग्रेसको जनाधार भएको चितवनमा माओवादी अस्वभाविक रुपमा दाबी गरेको भन्दै कांग्रेसभित्र असन्तुष्टि छाएका बेला विश्वप्रकाशले हैसियत बिर्सिए गठबन्धन नै संकटमा पर्ने चेतावनी दिएका हुन् ।

महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताए। उनले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा कांग्रेसले जित्ने बताए।

प्रतिक्रिया