कुटपिटबाट गर्भपतन भयो, दोषीलाई साढे एक वर्ष जेल


काठमाडाैँ- सप्तरीको महादेवा गाउँपालिकाकी एक महिलाको गर्भपतन गर्ने अभियुक्तलाई बिहीबार कैद सजाय भएको छ। महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको कसुरमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ।

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलासले अभियुक्त बरैलाई कैद सजायको फैसला सुनाएको हो। अन्य तीन जना आरोपितले भने सफाइ पाएका छन्। बरैसहित उनका छोरा २७ वर्षीय श्याम राउत वरै, सोही ठाउँका ६५ वर्षीय रामजी साह र उनका छोरा ४० वर्षीय सुरेन्द्र साहले २०७७ फागुन ६ गते दिउँसो कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएका थिए।

आफ्नो खेतमा बालीनाली हेर्न गएका बेला गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गँहु काटिरहेको देखिएपछि रोक्न खोज्दा आफूालाई लातमुक्काले कुटपिट गरी घाइते बनाएको भनी पीडितले उजुरी दिएकी थिइन्। सोही क्रममा पेट दुखेर २०७७ फागुन ११ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकामा फागुन १२ गते १६ हप्ताको गर्भ खेर गएको पीडितले बताएकी थिइन्।

प्रहरीले २०७७ फागुन १४ गते उजुरी दर्ता गरी सोही दिन आरोपितमध्ये लक्ष्मण, श्याम र रामजीलाई पक्राउ गर्‍यो। जिल्ला अदालतमा २०७७ फागुन २३ गते अभियोगपत्र दायर भएकामा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले आरोपित लक्ष्मण, श्याम र रामजी जनही रु ३० हजारमा धरौटीमा रिहा भएका थिए। जिल्ला अदालतमा २०७७ चैत १० गते हाजिर भएका सुरेन्द्रसमेत सोही दिन रु ३० हजारमा धरौटी राखी रिहा भएका थिए।

प्रतिक्रिया