हास्यकलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा


काठमाडौँ । वैशाख ३० को स्थानीय चुनाव नजिकै आउँदा कलाकारहरु पनि चुनावी मैदानमा उत्रन तम्तयार देखिन्छन् । केहीदिन पहिले नायक राजेश हमाल काठमाडौँको मेयर उठने हल्लाले बजार तातेको थियो । व्यापक मिडिया कभरेज भएपछि हमालले आवश्यक परे चुनावमा उठ्न सकिने भनेर प्रतिक्रिया दिँदै पन्छिएका थिए ।

त्यो घटना त्यतिबेला आयो जतिबेला महानायक हमालकी समकालीन नायिका करिश्मा मानन्धर एमाले प्रवेश गरेकी थिइन् । त्यो प्रकरण सेलाउन नपाउँदै नायक भुवन केसी पनि काठमाडौँको मेयर उठ्न तयार भएको खबर सञ्चार माध्यममा आएको छ ।

पूर्वसञ्चारकर्मी एवम् कानुन व्यवसायी स्वागत नेपाल अध्यक्ष रहेको पार्टीबाट केसी काठमाडौँको मेयर उठ्ने तय भएको खबर बाहिरिएको हो । ११ महिना राजनीतिबाट ओझेलमा रहने गरेका कलाकारहरु जब जब चुनाव आउन थाल्छ तब तब चर्चा सुरु हुन थालिहाल्छ ।

कलाकार रेखा थापादेखि मनिसा कोइरालासम्म बेलामौकामा राजनीतिमा देखिन्छन् । नायक गायक जस्तै चुनावी मैदानमा उत्रने पछिल्ला कलाकारमा अहिलेका जल्दाबल्दा हास्य कलाकार दिनेश काफ्ले पनि चुनावी मैदानमा रहेको सञ्चार माध्यममा खबर छ ।

सिन्धुलीका स्थानीय काफ्ले नेकपा (माओवादी केन्द्र)बाट कमलामाई नगर पालिका वडा नम्बर ८ को वडा अध्यक्ष उम्मेदवार बन्ने निश्चित भएको छ । उनी उक्त वडामा सर्वसम्मतबाट वडाअध्यक्ष उम्मेदवारमा चयन भएका छन् ।

सामाजिक सञ्जालमा काफ्लेलाई उम्मेदवार बन्ने जानकारी पाएका आफ्ना फ्यानबाट अग्रिम बधाई र शुभकामनाको ओइरो लागेको छ ।

प्रतिक्रिया